निषेधाज्ञामा पनि साढे चार अर्बको सेयर कारोबार «

निषेधाज्ञामा पनि साढे चार अर्बको सेयर कारोबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको दिन बिहीबार सेयर बजारमा साढे ४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । अनलाइनमार्फत कारोबार र भुक्तानी गर्न सकिने व्यवस्थाका कारण निषेधाज्ञाको समयमा पनि सामान्य अवस्थाकै जस्तो सेयर किनबेच भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५.८२ अंकले वृद्धि हुँदा बिहीबार २१७ कम्पनीका ९८ लाख १८ हजार कित्ता सेयर किनबेच भई ४ अर्ब ३५ करोड रुपैयाँ कारोबार भएको छ ।
अनलाइनबाटै कारोबार र रकम भुक्तानी गर्न सकिने व्यवस्थाका कारण पछिल्लो समयमा सेयर बजारमा लगानी बढिरहेको छ । निषेधाज्ञाका कारण व्यापार व्यवसाय बन्द हुँदा अन्य व्यवसायीले पनि छोटो अवधिका लागि सेयरमा लगानी गर्ने गरेका छन् ।
गत चैतमा लकडाउन सुरु भएसँगै चैत ११ गतेदेखि ५१ दिन सेयर कारोबार बन्द गरिएको थियो । वैशाख ३० गतेबाट दैनिक २ घण्टा कारोबार गर्ने गरी बजार संचालन गरिए पनि लगानीकर्ताहरुको दबाबका कारण दुई दिनमा बन्द गरियो । त्यसपछि असार १५ गतेबाट बजार संचालन भएको थियो ।
कोभिडका कारण देशमा आर्थिक गतिविधि सुस्ताएको र लगानीका लागि क्षेत्रहरु कम हुँदा सेयर बजारमा उत्साह देखिएको लगानीकर्ताहरु बताउँछन् ।
यो साता आइतबार र सोमबार बजार घटेपनि मंगलबारदेखि भने बढिरहेको छ । साताको अन्तिम दिन बिहीबार नेप्सेसँगै अधिकांश समूहगत परिसूचकहरु पनि सकारात्मक भएका छन् ।
बिहीबार बैंकिङ ७.५५, व्यापार १२६.५४, विकास बैंक २७.३, जलविद्युत ८०.२, फाइनान्स ५.२३, निर्जीवन बिमा १२४.८, उत्पादन १०३.६८, अन्य ५०.७३, लघुवित्त ४४.३६, जीवन बिमा १४२.८८ र म्युचुअल फण्ड ०.०१ अंकले बढेको छ । यसैगरी होटल तथा टुरिजम २७.७७ र लगानी समूह ०.११ अंकले बढेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्