भक्तपुरका किसानले पाए तरकारीको उचित मूल्य
भक्तपुरका किसानले तरकारीको उचित मूल्य पाउन थालेका छन् । नेपालकै सबैभन्दा ठूलो र आधुनिक भनिएको तरकारी बजार जिल्लामै सञ्चालनमा आएपछि किसानले तरकारीको उचित मूल्य पाउन थालेका हुन् ।
जिल्लामा यसअघि तरकारी बजार थिएन । बजारको अभाबमा उनीहरु सडकको छेउछाउमा बसेर तरकारी बेच्न बाध्य थिए । बजारको अभाबमा उनीहरुले तकारीको उचित मूल्य पाउन सकेका थिएनन् । बजारको अभाबमा किसानले काठमाडौंसम्म लाने बिचौलियालाई सस्तैमा तरकारी बच्न बाध्य थिए ।
स्थानीय किसान कृष्णबहादुर फेलूले आफ्नै आँंगनमा तरकारी बजार खुल्दा उचित मूल्य पाएको भन्दै खुशी जनाए । “एक दिन एक पटक सबैको पालो आउँंछ भनेको हो रहेछ जस्तो लाग्यो” उनले भने, “बल्ल तरकारीको उचित मूल्य पाउँंदा असाध्यै खुशी लागेको छ ।”
उत्पादन भएको तरकारी बिहानै बजारमा बेच्न लाने गरेको उनले बताए । उनले आफूले मात्रै नभइ सबैले तरकारीको उचित मूल्य पाउन थालेको भन्दै प्रसन्नता व्यक्त गरे ।
जिल्लामै हालसालै सूर्यविनायक नगरपालिका–८ आदर्श सिपाडोल क्षेत्रमा नेपालकै ठूलो सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालनमा ल्याइएको छ । कृषि बजार आधुनिक रुपमा बनाइएको छ । त्यसको लागि भित्र प्रवेश गर्ने र बाहिर निस्कनका लागि छुटाछुटै प्रवेशद्वारको व्यवस्था गरिएको छ ।
कृषि बजारमा तरकारी राख्न ल्याउने गाडीहरुको जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको छ । ३२ करोडको लगानीमा सञ्चालित यो नेपालकै अहिलेसम्मको सवैभन्दा ठूलो व्यवस्थित कृषि बजार हो । बजारभित्र साढे सात सय स्टलहरु रहेको छन् । बजारको मुख्य उद्देश्य होलसेलको रुपमा स्थापना गर्ने भएता पनि स्थानीयको लागि खुद्रा बिक्री पनि हुने गरेको छ । ।
सूर्यविनायक हरित कृषि थोक बजारका अध्यक्ष राकेश प्रसाईले तरकारी बेच्न ल्याउने किसानलाई उचित मूल्य दिइरहेको बताए । किसानलाई मात्रै नभई यहाँंबाट तरकारी किनेर काठमाडौंमा बेच्न लाने खुद्रा व्यापारीहरुलाई पनि आकर्षक मूल्यमा तरकारी बेचिरहेको उनले बताए ।