नयाँ पुनर्बीमा कम्पनीको प्रस्ताव माग «

नयाँ पुनर्बीमा कम्पनीको प्रस्ताव माग

पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन निजी क्षेत्रको लगानीमा थप एक पुनर्बीमा कम्पनी आवश्यक भएकोले इच्छुक लगानीकर्तासँग बिमा समितिले पुनर्बीमा कम्पनी स्थापना गर्ने सम्बन्धमा प्रस्ताव माग गरेको छ ।
न्युनतम पुँजी १० अर्ब रुपैयाँको नयाँ बिमा कम्पनीमा यसअघि लगानी गरिसकेका लगानीकर्ताले लगानी गर्न पाउने छैनन् । समितिको यो नयाँ नियमले नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरिसकेका नेपाल सरकार, बिमा कम्पनीहरु र यसको संस्थापक लगानीकर्ता नयाँ कम्पनीमा सेयरधनी बन्न नपाउने भएका छन् ।
पुराना लगानीकर्ता संलग्न वा क्रस होल्डिङ भेटिएमा त्यस्ता प्रस्ताव अमान्य हुने बिमा समितिको सूचनामा उल्लेख छ । नयाँ व्यवस्था अनुसार नयाँ पुनर्बीमा कम्पनीमा १७ वटा निर्जीवन र ६ वटा जीवन बिमा कम्पनीहरुले पनि लगानी गर्न नपाउने भएका छन् ।
समितिले दुई वा सोभन्दा बढी प्रस्तावहरु आएमा बिमा समितिको मूल्यांकनमा उच्च अंक प्राप्त गर्ने कम्पनीलाई पुनर्बीमा व्यवसाय गर्न अनुमति दिने सूचनामा उल्लेख गरिएको छ । तर, प्रस्ताव मूल्यांकनका आधार र विधि भने बिमा समितिले सार्वजनिक गरेको छैन । यसअघि दर्ता भएका प्रस्तावहरु रद्द गरेर नयाँ सूचना जारी गरिएको भन्दै समितिले पुराना प्रस्तावकले चाहेमा नयाँ प्रक्रियाअनुसार पुनः प्रस्ताव पेस गर्न भनेको छ ।
सूचना प्रकाशित भएको २१ दिनभित्र अर्थात् जेठ ६ गते मध्यान्न १२ बजेभित्र प्रस्ताव दर्ता हुनु पर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्