मध्य भोटेकोशीको सेयर निष्कासन वैशाख २१देखि «

मध्य भोटेकोशीको सेयर निष्कासन वैशाख २१देखि

निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाले स्थानीयवासी तथा सर्वसाधारणलाई यही वैशाख २१ गतेदेखि सेयर निष्काशन गर्ने भएको छ ।
चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको सहायक कम्पनी मध्य भोटेकोशीले सेयर सार्वजनिक गर्न लागेको हो । कम्पनीका अनुसार २१ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दाको लागि खुला गर्न लागिएको सेयर निष्कासन बन्द भने छिटोमा आगामी जेठ ४ र ढिलोमा जेठ २० सम्म राखिएको छ । स्थानीय बासिन्दाहरुले न्यूनतम ५० कित्ता तथा अधिकतम ४०० कित्तासम्मको लागि दरखास्त दिन पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
१ करोड ५० लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको कम्पनीले जारी पूँजी ६ अर्बको १० प्रतिशत अर्थात् ६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको छ । जसमा अति प्रभावितले ३० प्रतिशत र सिन्धुपाल्चोकका अन्य प्रभावितले ७० प्रतिशत बराबरको सेयरमा सहभागी हुन पाउनेछन् ।
यसैगरी जारी पूँजी ६ अर्बको १५ प्रतिशत अर्थात् ९० करोड बराबरको ९० लाख कित्ता साधारण सेयरमध्ये ३ लाख ६० हजार कित्ता अर्थात् सर्वसाधारणमा निष्काशन हुने सेयरको ४ प्रतिशत कम्पनीका कर्मचारीहरुलाई र ४ लाख ५० हजार कित्ता अर्थात् सर्वसाधारणमा निष्कासन हुने सेयरको ५ प्रतिशत सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी ८१ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिएको पनि कम्पनीले जनाएको छ ।
निर्माणाधीन यस आयोजनाको अद्यावधिक लागत अनुमान निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० हजार रुपैयाँ र निर्माण अवधिको ब्याजसहित १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रहेकोमा स्वपुँजीमध्ये संस्थापक सेयर धनीबाट ५१ प्रतिशत लगानी भैसकेको छ । बाँकी ४९ प्रतिशतमध्ये प्रथम चरणमा कर्मचारी सञ्चयकोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारीहरु, संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष) का कर्मचारीहरूको लागि कुल जारी पूँजीको २४ प्रतिशतले हुन आउने १ करोड ४४ लाख कित्ता सेयर संकलन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्