जुम्लामा शैक्षिक संस्था बन्द «

जुम्लामा शैक्षिक संस्था बन्द

जुम्लामा वैशाख १५ गते अर्थात् बुधबारदेखि विद्यालय, कलेज, ट्यूसन सेन्टर बन्द हुने भएका छन् । छिमेकी जिल्लासँगै जुम्लामा पनि कोराना संक्रमणको दर बढ्न थालेपछि केन्द्रको निर्देशन अनुसार विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण हुन नदिनको लागि वैशाख १५ देखि विद्यालय बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए ।
उनका अनुसार बैठकले अर्को निर्णय नभए सम्मका लागि विद्यालय बन्द गर्ने, तीन दिन भित्र जुम्लाका आठै स्थानीय तहले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका रणनीति बनाएर पेश गर्ने र जनस्वास्थ्य कार्यालयको अगुवाईमा सिमाक्षेत्र नाग्मबजार र जुम्ला विमानस्थलमा हेल्थडेस्क स्थापना गर्ने लगायतका निर्णय भएका छन् ।
यसैगरी गाउँपालिका भित्र संकलन भएको लगत जानकारी गराउनको लागि हरेक गाउँपालिकामा सम्पर्क व्ब्यक्ति तोक्ने समेत निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चौलागाईंले जानकारी दिए ।
कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले नगरपालिका, गाउँपालिकामा सभा,समारोह, भेला, गोष्ठी गर्दा बढिमा १५ जना जम्मा गर्न पाउन निर्णय गरेको छ । त्यस्तो कार्यमा स्वास्थ्य सुरक्षाका मापदण्ड पुणरुपमा पालना गर्नुर्पे, घटना घटिसकेको अवस्थामा चाहिने सामाग्री सहयोगका लागि सरकारी तथा गैरसकारी निकायसँग आर्थिक सहयोग माग्ने समेत निर्णय भएको छ ।
हरेक गाउँपालिकाले कोभिड १९ नियन्त्रण सम्बन्धि रणनीतिक योजना बनाउनुपर्ने र संकट व्यवस्थापन समितिको बैठकमा पेश गर्नु पर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्