कोरोनाका कारण तातोपानी कुण्ड र धार्मिकस्थलहरू बन्द «

कोरोनाका कारण तातोपानी कुण्ड र धार्मिकस्थलहरू बन्द

कोरोनाको दोस्रो लहर बढेसँगै म्याग्दीका तातोपानी कुण्डहरू स्नानकार्य र पूजापाठ हुने धार्मिकस्थल बन्द भएका छन् । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अघिकारीको अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिको बैठकलले जिल्लाका सबै तातोपानी कुण्ड र धार्मिकस्थल बन्द गराउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा गलेश्वरधाम मन्दिरलगायतका धार्मिकस्थल, सिंगा, भुरुङतातोपानी लगायतका कुण्ड, योग केन्द्र कवर्डहल बन्द गर्ने निर्णय गरेको छ । म्याग्दीमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएका कारण भीडभाड हुने स्थल तत्काल बन्द गर्ने निर्देशन जारी गरिएको प्रजिअ अधिकारीले जानकारी दिए ।
कोरोना संक्रमणको जोखिमका कारण प्रशासनले मेला, महोत्सव, सभा, समारोहलगायतको कार्यक्रममा स्थगित गराएको छ । वैशाख १५ गतेदेखि २८ गतेसम्म शैक्षिक संस्था बन्द गराएको छ । पर्यटकीयस्थलमा पनि रोक लगाएको छ । २५ जनाभन्दा बढी जन्ती र मलामी सामेल नगराउन आग्रह गरेको छ । अतिआवश्यक काममा घरबाहिर निस्कँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह भनिएको छ । कोरोनाको दोस्रो लहर फैलिइरहँदा मास्क लगाएर बजार घुम्ने बढी देखिएको छ । सीमानाका कडा गर्न बजारबासीको माग छ । स्थानीय तहले क्वारेन्टिन व्यवस्था र आइसोलेसन निर्माण गरेका छैनन् । गत वर्ष बनाइएका क्वारेन्टिन र आइसोलेसन पनि भताभुङ्ग अवस्थामा छन् । जिल्लामा मंगलबार ११ जनासहित हालसम्म ५७ जना संक्रिय कोरोना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताए । सीमानाका कडा गर्न स्थानीय तहबाट कर्मचारी खटाउने कार्य भएको प्रजिअ गणेशबहादुर अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्