Logo

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबार बसेको आयोगको बैठकले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका स्विकृत गरि सार्वजनिक गर्ने निर्णय गरेको हो ।
सार्वजनिक गरिएको कार्यतालिका अनुसार ७ गते मतदाता नामावली प्रकाशन हुनेछ । यस्तै ९ गते अन्तिम नामवली प्रकाशन गर्ने र १० गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ । आयोगले सूचीमाथि दाबी विरोधका लागि ११ र १२ गते छुट्याएको छ । १५ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने र २४ गते १० बजेदेखि ३ बजेसम्म मतदान हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । ७ प्रदेशका उच्च अदालत रहेका स्थानमा मतदान गरिनेछ ।

को हुन् मतदाता ?
५९ सदस्यीय राष्ट्रियसभाका लागि ५६ जना निर्वाचित हुने र ३ जना राष्ट्रिपतिले मनोनित गर्ने व्यवस्था छ । निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेशसभाका सदस्यले मतदान गर्न पाउनेछन् । यो निर्वाचनमा स्थानीय तहका प्रमुख तथा उपप्रमख १५०६ र प्रदेशसभाका ५५० गरी २ हजार ५६ जना मतदाता रहेको आयोगले जनाएको छ । आयोगका अनुसार प्रदेशसभा सदस्यको मतभार ५८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्