बजेट अभावमा कोरोना परीक्षण प्रयोगशाला बन्द
बजेट अभावका कारण गुल्मीमा रहेको कोभिड–१९ परीक्षण प्रयोगशाला बन्द भएको छ । कोरोना भाइरसको दोस्रो लहरका कारण गुल्मीमा थुप्रै कोरोना संक्रमित भेटिएपनि अहिले कोभिड–१९ परीक्षण प्रयोगशाला बन्द अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लाका १२ वटा स्थानीय तहको सहकार्यमा रेसुङ्गा नगरपालिकाले नेतृत्व गरी कोभिड– १९ प्रयोगशाला संचालन हुने भनिएपनि स्थानीय तहले रकम उपलब्ध नगराउँदा प्रयोगशाला बन्द अवस्थामा रहेको रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले जानकारी दिए । नेपाल सरकारका परराष्ट्रमन्त्री तथा गुल्मीको संघिय निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदिप ज्ञवालीले धुमधामका साथ उद्घाटन गरेको प्रयोगशाला बजेट अभावमा कर्मचारी तलब नदिई घर पठाएपछि बन्द भएको हो ।
करिब २ करोड रकम खर्च गरेर गएको असोज १ गतेदेखि सञ्चालनमा रहेको प्रयोगशालामा गत फागुनसम्म १० कर्मचारी कार्यरत थिए । आफूहरुले तलब नपाएपछि फागुनपछि प्रयोगशालामा काम गर्न छाडेको कर्मचारीहरु बताउँछन् । प्रयोगशाला बन्द भएपछि कोरोनाको पिसीआर परिक्षणका लागि बुटवल स्वाब पठाउनुपरेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीकाका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
प्रयोगशाला सञ्चालन गर्ने निर्णय गर्दा नगरपालिकाले १५ लाख र गाउँपालिका १० लाख उपलब्ध गराउने सहमती भएपनि स्थानीय तहले प्रयोगशाला संचालन भएपछि रकम उपलब्ध नगराएको रेसुङ्गा नगरपालिकाले जनाएको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले पनि यसबारे चाँसो देखाएको छैन । प्रदेश र केन्द्रको आश गरेर जिल्लाका स्थानीय तह बसिरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पटकपटक स्थानीय तहसँग प्रयोगशालाको आवश्यकता र कर्मचारीले पारिश्रमिक नपाएको कुरा भन्दै आएपनि जिल्लाका स्थानीय तहले टेरेका छैनन् । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले केही स्थानीय तहले मात्र रकम उपलब्ध नगराएको भन्दै यसबारे स्थानीय तहका प्रमुखहरुसँग छलफल गर्ने बताएका छन् । “स्थानीय तहको समझदारीले गर्दा नै प्रयोगशाला सञ्चालनमा आएको हो ।” समन्वय समिति गुल्मीका प्रमुख पराजुलीले भने, “प्रदेश सरकारले कर्मचारीको तलब दिने भन्ने कुरा हुदाँ कर्मचारी पनि तलब पाउनबाट बञ्चित छन् ।” प्रयोगशाला अब संचालन गर्ने वा नगर्ने सम्बन्धमा स्थानीय तहका प्रमुखसँग आफूले छलफल गर्ने पराजुलीले बताए ।