Logo

माथिल्लो दोर्दी ‘ए’ को परीक्षण सुरु

व्यावसायिक उत्पादन जेठदेखि

लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले सुरुङमा परीक्षण सुरु गरेको छ । संरचना निर्माणको काम सम्पन्न गरिसकेको उक्त आयोजनाले आगामी जेठभित्रै व्यावसायिक विद्युत् उत्पादन गर्नेगरी परीक्षण सुरु गरेको हो ।
अघिल्लो वर्ष दोर्दी खोलामा आएको बाढी र त्यसपछिको कोरोना महामारीको असरका कारण निर्धारित समयभन्दा एक वर्ष बढी समय लगाएर आयोजना निर्माण सम्पन्न हुन लागेको हो । हाल संरचना निर्माणको काम सम्पन्न भई परीक्षण तयारी सुरु गरिएको आयोजना प्रवद्र्धक राजेन्द्र वस्तीले जानकारी दिए । उनका अनुसार विद्युत् उत्पादन परीक्षणका लागि आयोजनाको सुरुङमा पानी हाल्न सुरु भएको छ । प्रवद्र्धक वस्तीका अनुसार यसअघि दोर्दी खोलामा आएको बाढीका कारण क्षति पुगेका केही संरचनामा मर्मत कार्य जारी रहेको र सोसँगै परीक्षण उत्पादनको तयारी पनि अघि बढेको छ ।
गत चैतमा व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्ने भनिए पनि उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न प्रसारणलाइन नहुँदा व्यावसायिक उत्पादनमा पनि ढिलाइ भएको आयोजनाले जनाएको छ । यद्यपि दोर्दी कोरिडोरमा १३२ केभी राष्ट्रिय प्रसारणलाइन पनि करिब सम्पन्न अवस्थामा पुगेकोले विद्युत् उत्पादनमा समस्या नहुने आयोजनाको दाबी छ ।
आयोजनाले जेठ महिनाभित्रै व्यावसायिक विद्युत् उत्पादन गर्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग समन्वय भएको प्रवद्र्धक वस्तीको भनाइ छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन सो आयोजनामा हेडवक्र्ससँगै बाँध क्षेत्र, पावरहाउस, इलेक्ट्रोमेकानिकल लगायत अन्य संरचना निर्माणको काम सम्पन्न गरिसकेको छ ।
२०७१ असोजबाट निर्माण थालिएको सो आयोजनाबाट अघिल्लो चैत मसान्तसम्ममा व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखिए पनि पटक–पटक निर्माण कार्य प्रभावित हुँदै आएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् दोर्दी करिडोरको १३२ केभी राष्ट्रिय प्रशारण लाइनबाट मस्र्याङ्दी करिडोरको २२० केभी प्रशारण लाइनमा जोडिने छ । आयोजनामा बाँधस्थल लोदो खोलाबाट २७ सय मिटर लामो भूमिगत सुरुङ र २७ सय मिटर लामो पेनस्टक पाइप छ ।
२०७४ सालमै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजना विनासकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र अघिल्लो वर्षको भदौमा आएको बाढीका कारण पनि निर्माण अवधि लम्बिएको आयोजनाले जनाएको छ । रन अफ रिभर प्रविधिमा बनेको सो आयोजनाको करिब चार अर्ब ६३ करोड लागत रहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्