Logo

नारी शक्ति परिचालनको आवश्यकता

आजसम्म पनि पुरुष दिवस मनाउने परम्परा कतै छैन । तर, नारीको सम्मान गर्ने पर्व नारी दिवस संसारभर मनाइन्छ । पूर्वीय दर्शनमा नारीलाई धरणी, धर्ती र माताको रूपमा स्वीकार गरिएको छ, जुन सबैका लागि प्रिय छ ।
पूजा, बन्दना र आराधनामा सर्वप्रथम ‘त्वमेव माता’ भनी सम्वोधन गरिन्छ भने अन्य औपचारिक सम्बोेधनमा पहिला महिला भनिन्छ । बालबच्चाको खानपानको व्यवस्था गर्ने, भान्छाको कुशल व्यवस्थापन गर्ने, पतिको स्याहारसुसार गर्ने र छोराछोरीलाई पहिलो वात्सल्यता दिएर मात्र आफू अघाउने देवी स्वरूपिणी नारी हो ।
पूर्वीय दर्शन हिन्दू परम्पराले देखाएको सम्मान सायद अन्य संस्कृति तथा धर्म दर्शनले देखाएको नहोला । घरकी लक्ष्मी, धनकी प्रतीक, वचन तथा बानीबेहोराको भण्डार मानिने एक नारीले धेरै सन्तान एवं शिष्यलाई अनुशासित र मर्यादित हुन सिकाउँछिन् । साधारणतया १० पुरुष शिक्षित हुँदा जति प्रतिफल प्राप्त गर्न सकिन्छ १ महिला शिक्षित हुँदा त्यति नै प्रतिफल प्राप्त गर्न सकिने अनुमान छ ।
पृथ्वीमा रहेका सम्पूर्ण नारी तथा तीर्थ क्षेत्रलाई देवी संरक्षकको रूपमा हेरिन्छ । शिवकी शक्ति उमा र ब्रह्माको शक्ति सरस्वती नारी नै हुन् । दुर्गा, सुभद्रा, शाम्भवी, रोहिणी, जया र विजया सबै नारी हुन्, जसले आफ्नो धेरै शक्ति प्रदर्शन गरेका छन् ।
नारीलाई किल्ला तथा सिमानाको रक्षक तथा दुर्गा अर्थात् दुर्गाको रूपमा अङ्गीकार गरिन्छ । सती प्रथा पालना गर्न नारीमा भय, त्रास, सन्त्रास र दुर्भिक्ष रोक्ने शक्ति हुनुका साथै वायुको गति रोक्ने सामथ्र्य पनि हुन्छ ।
वासना पूर्तिका लागि हरण गर्ने रावणको विनाश गर्न नारी सीता कंसको काल बनेर विन्ध्यवासिनीको रूपमा उत्पत्ति भएकी हुन् । महिषासूर, चण्ड, मुण्ड, रक्तबीजदेखि तमाम असत्यको विनाश गर्ने नारी नै हुन् । कोही नारीहरूमा पुतना तथा होलिकाको आस देखिए पनि समग्रमा भन्नुपर्दा उनीहरू घरका शोभा हुन्, कुटुम्बहरूका प्रियजन हुन् र गृहस्थ धर्मका आधारशिला हुन् । उनीहरू आवश्यक परेको अवस्थामा रणचण्डीको रूप पनि लिन्छन् ।
परापूर्व कालमा नारीहरू धेरै शक्तिशाली भएकाले पतिष्ठित व्यक्तिहरू पनि उनीहरूको आराधना गर्थे । उदाहरणका लागि श्रद्धेय गुरु शङ्कराचार्य त्रिपुरादेवीको उपासक थिए भने धर्मराज युधिष्ठिर र स्वामी विवेकानन्द देवीको उपासक थिए । सर्वेश्वर श्रीकृष्ण हराएको बेला उनको प्राप्तिका लागि उनका पिता वासुदेवले देवीको उपासना गरी आफ्ना इच्छा पूर्ति गरेका थिए । जगत् सञ्चालक नारायणकी प्रियको नाम नारायणी हो, जसले सबैलाई माया गर्छिन् ।
सृष्टिकर्ता ब्रह्माजी, पालनकर्ता श्रीविष्णु र संहारकर्ता श्रीशिव देवीका उपासक थिए र देवीबाट शक्ति पाएर नै उनीहरूले आफ्ना कार्य कुशलतापूर्वक सम्पन्न गरेका थिए । द्रौपदी, यशोदा, देवकी र कुन्ती पनि नारी हुन्, जसले पौराणिक कालमा अनुपमकार्यहरू गरेका थिए ।
ब्राह्मी, बंगलामुखी, त्रिपुरादेवी, कुमारी, माहेश्वरी आदि नामले प्रख्यात नारीहरू भगवती र रूपमती मात्र होइनन्, मायावती पनि हुन् । जुन घर तथा समूहमा नारीको सम्मान हुँदैन र जुन मन्दिरमा देवीको प्रसाद हुँदैन, त्यहाँ शुभकार्य हुन सक्दैन ।
आज केही देशका नारीहरूले राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य ठूला पदहरू सम्हालेका छन् । वास्तवमा आज नारीहरू आफैं योग्य हुनाले उनीहरूलाई अवसरहरूको आवश्यकता छ ।
हिजोआज सूचना, सञ्चार, उद्योग, सेना र प्रहरी कार्यालयहरूमा पनि नारीहरूको सहभागिता बढेको छ । यसबाट उनीहरूको योग्यता एवं सामथ्र्य कम छैन भन्ने कुराको पुष्टि हुन्छ ।
वर्तमान समयमा यहाँका नारीहरूको अस्मिता लुट्न थालिएको छ । यतिमात्र होइन, उनीहरू तेजाब प्रहारबाट पीडित एवं कुरूप भएका छन् । यस्तो विकृति न्यून गर्न एकातर्फ उनीहरू आफैं सतर्र्क भई शक्ति प्रदर्शन गर्न सक्नुपरेको छ भने अर्कातर्फ पुरुषहरूले उनीहरूको सम्मान गर्नुपर्छ । यस्तो गर्न सके मात्र मानव जातिले चाहेको जीवन्त जीवन सञ्चालनदेखि सम्पूर्ण जगत् सञ्चालनमा टेवा पुग्नेछ ।
—के.बी. बस्नेत

प्रतिक्रिया दिनुहोस्