औद्योगिक कच्चा पदार्थको ढुवानी खर्च घटाऊ «

औद्योगिक कच्चा पदार्थको ढुवानी खर्च घटाऊ

नेपालमा उद्योग किन घटे वा उद्योगीहरू किन व्यापारतिर बढी आकर्षित भए भन्दा मुलुकमा उद्योगधन्दा चलाउनुमा नाफाको दर सोही वस्तु आयात गरेर बेच्दाभन्दा कम भएका कारण हो । नेपालमा उद्योगीहरू व्यापारतिर आकर्षण हुनुमा मुनाफा प्रमुख विषय हो, तर मुनाफामात्र कारण भने होइन । किनकि उद्योग सञ्चालन गर्न चाहिने औद्योगिक कच्चा पदार्थको महँगो मूल्यदेखि नियमित विद्युत् आपूर्तिका समस्या एवं दक्ष जनशक्तिको अभावलगायतका कारणहरूले गर्दा नेपालमा उद्योगीहरू बिस्तारै व्यापारतिर लागेका हुन् । त्यसबाहेक पनि सरकारको नीतिगत अस्पष्टता तथा अस्थिरताका कारण नेपालमा लगानीकर्ताहरू आफूलाई सुरक्षित ठान्दैनन् । जब नेपालमा उत्पादन गरेको वस्तुको मूल्य आयातित वस्तुभन्दा महँगो हुन्छ, सामान्य उपभोक्ताले सहजै सस्तो मूल्यवाला उत्पादन राज्ने गर्छ । सामान्य उपभोक्तामात्र होइन, सरकार आफैं पनि स्वदेशी उत्पादनभन्दा विदेशी उत्पादन बढी प्रयोग गर्छ, कारण टेन्डर गर्दा सस्तो मूल्य दिनेसँग सामान किन्नुपर्ने बाध्यता छ । हुन त यसअघिका सरकारले पनि १५ प्रतिशतसम्म महँगो भए तापनि नेपाली वस्तु नै खरिद गर्नुपर्ने कानुन नै बनाए तापनि उक्त कानुनको पनि कार्यान्वयन भने हुन सकेको देखिएन । हालै नेपाल उद्योग परिसंघले फेरि एकपटक नेपाली वस्तु प्रयोग गर्न नीति बनाउन सरकारलाई झकझक्याउन अभियान नै सुरु गरेको छ भने नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका युवा उद्यमीहरूले पनि मेड इन नेपाल अभियान नै चलाएका थिए । तर, मेड इन नेपाल अभियानमा सरकारको प्रत्यक्ष सहयोग नरहेका कारण सफल हुन सकेन । तसर्थ सरकारले यदि स्वदेशी उत्पादनको लागत घटाउन सहयोग नगर्ने हो भने नेपालमा उत्पादित वस्तुको प्रयोग र नेपाली उत्पादन तथा रोजगारी बढाउने सरकारी वाचा कागजमा नै सीमित रहने देखिन्छ ।
त्यसैले सरकारले सबैभन्दा पहिला नेपालको औद्योगिक तथा आर्थिक विकासलाई तीव्रता दिने हो भने सरकारले औद्योगिक कच्चा पदार्थको ढुवानी खर्च घटाउन आवश्यक छ । यसै सिलसिलामा हाल कोलकाता–हल्दिया र विशाखापट्टनमबाट सोझै विराटनगर एकीकृत जाँच चौकी (आईसीपी) सम्म निकासी पैठारीको पारवहन सुविधा विस्तार गर्न उद्योग संगठन मोरङले माग गरेको छ । विराटनगर आईसीपीसम्म रेलबाट कार्गो निकासी–पैठारी गर्न अविलम्ब पहल गर्न सरकारसँग आग्रह गर्नुको कारण पनि आयातित कच्चा पदार्थको मूल्य घटाउन सहयोग पुगोस् भनेर हो । हाल भारतबाट द्विपक्षीय कार्गाेमध्ये सिमेन्टलगायतका रेलबाट पैठारी हुने मालवस्तु बथनाहसम्म ल्याउने र त्यहाँबाट ट्रकबाट विराटनगरस्थित आईसीपीसम्म पैठारी हुँदै आएको र विलेट क्वायलजस्ता औद्योगिक मालवस्तु जोगबनीसम्म रेलमा ल्याउने र त्यहाँबाट पुनः टेलरमा विराटनगर आईसीपीसम्म ल्याउने गरिएको छ । यसबाट औद्योगिक कच्चा पदार्थको मूल्य बढ्न गएको उद्योगीको गुनासो छ । नेपाल–भारत सहयोगअन्तर्गत बथनाहदेखि विराटनगरको महेशपुरसम्म निर्माण हुने क्रममा रहेको रेल्वे परियोजना जग्गा मुआब्जा विवादका कारण कार्य अगाडि बढ्न नसकेको हुँदा जग्गा मुआब्जा विवादलाई यथाशीघ्र समाधान गरी निर्माण कार्य सुचारु गर्न पनि आवश्यक रहेको उद्योगीको भनाइ छ । किनकि आईसीपीसम्म मालवस्तु सीधै आयात हुने हो भने ढुवानीमा लाग्दै आएको लागत घट्छ र उत्पादन लागतमा पनि कमी आउँछ । यसबाट उपभोक्तालाई फाइदा पुग्नुका साथै उत्पादित नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमतासमेत बढ्नेछ । सरकारले उद्योगीलाई उद्योग गर्न प्रोत्साहन गर्न कच्चा पदार्थको लागत घटाउनेदेखि नियमित तथा सस्तो बिजुली उपलब्ध गराउने र दक्ष जनशक्ति उत्पादनमा जोड दिन उद्योगीहरूले बारम्बार आग्रह पनि गर्दै आएका छन् । यसरी मुलुकमा औद्योगिक वातावरण बनाइदिएपछि उद्योगीहरू लगानी थप्न उत्साहित हुने र स्वदेशमा नै रोजगारी सिर्जना हुन सक्नेछ । अन्यथा लगानी नथपिएसम्म रोजगारी पनि सिर्जना हुँदैन । त्यसैले सरकारले निजी क्षेत्रले अगाडि सारेको स्वदेशी उत्पादनको प्रवद्र्धन अभियानमा साथ दिएर भारत, चीन तथा बंगलादेशलगायतका मुलुकहरूबाट आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्