Logo

आयोजनाको म्याद थप गर्न निर्मण व्यवसायीको माग

कोरोना भाइरसका कारण गत वर्ष झैं यस पटक पनि देशका विभिन्न ठाउँमा जारी निषेधाज्ञाका कारण निर्माण व्यवसायीहरूले भोग्दै आएको म्याद थपको समस्या थप पेचिलो बन्ने संकेत देखिएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । यसअघि नै वैज्ञानिक ढङ्गले म्याद थप नहुँदा चर्को आर्थिक मारमा परेका हजारौं निर्माण व्यवसायीहरू अहिलेको विषम अवस्थाको निषेधाज्ञाका कारण अझ समस्यामा पर्ने निश्चित देखिएको महासंघको भनाइ छ ।
तोकिएको समयमा सम्पन्न हुन नसेकका परियोजनामा व्यवहारिक रुपमा म्याद थप गरी व्यवसायीलाई राहत दिन महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति मार्फत् सम्बन्धित् सबै निकायहरूको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
अघिल्लो पटकको कोभिड र त्यसपछिको वर्षायाम, चाडपर्वलगायतका कारणले व्यवसायीले निर्माण कार्यहरु गर्ने फागुनदेखि असारसम्मको मुख्य दुई सिजन गुमाएको समयलाई शून्य समय (कन्स्ट्रक्शन होलिडे) मानी हाल सञ्चालित सम्पूर्ण निर्माण कार्यका लागि एकमुष्ठ एक वर्ष निर्णय भएको मितिबाट गणना हुने गरी म्याद थप गरिनु पर्ने महासंघको माग छ ।
यसैगरी निषेधाज्ञाको अवधिमा सार्वजनिक निकायहरूले आह्वान गरी सो समयमा बोलपत्र दाखिला गर्ने समय भएका अति आवश्यक सेवा बाहेकका खरिद प्रक्रियाहरुमा निर्माण व्यवसायी सदस्यहरु एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसक्ने, बैंक ग्यारेण्टीलगायतका कागजात तयार गर्न नसकिने भएकाले यस्ता सम्पूर्ण खरिद प्रक्रिया स्थगित गरि उक्त सबै बोलपत्रहरुको म्याद कम्तिमा १५ दिन थप गर्न माहासंघको माग छ ।
कोभिडको महामारी र निषेधाज्ञासँगै निर्माण व्यवसायीहरूले पाउनु पर्ने अर्बौं अर्ब रुपैयाँ भुक्तानी रोकिँदा बैंक किस्ता, राजस्व दाखिला, आपूर्तिकर्ता तथा मजदुरहरुको भुक्तानी नहुँदा निर्माण क्षेत्र आर्थिक रुपले धरासायी भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्