अन्नपूर्ण पदमार्गमा सुविधासम्पन्न होटल «

अन्नपूर्ण पदमार्गमा सुविधासम्पन्न होटल

विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग अन्तर्गत लमजुङको मस्र्याङ्दीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । कोभिड–१९ को प्रभावसँगै गतवर्ष सुरू भएको लकडाउनको समयलाई सदुपयोग गर्दै मस्र्याङ्दी गाउँपालिका–४, स्याँगेका व्यवसायी नरबहादुर गुरुङले सुविधा सम्पन्न न्यू वाटरफल गेष्ट हाउस एण्ड रेष्टुरेण्ट सञ्चालन गरेका हुन् ।
सन् २००८ देखि होटल व्यवसाय सञ्चालन गर्दै आएका गुरुङले पुरानो सेवा सुविधालाई परिमार्जन गर्नुका साथै नयाँ संरचना र विशेष सेवा सुविधासहितको होटल व्यवसाय सुरू गरेका हुन् । अन्नपूर्ण पदमार्गमा आउने पर्यटक र अन्य पाहुनाहरूलाई लक्षित गरी व्यवस्थित र विशेष सेवा सुविधासहित होटल सञ्चालनमा ल्याएको होटल सञ्चालक गुरुङले बताए ।
“मेरो होटल विशेषत अन्नपूर्ण पदमार्गमा आएका पर्यटक लक्षित हो” गुरुङले भने, “पदमार्गमा आएका पर्यटकबाहेक पनि जिल्ला भित्रिने अन्य पर्यटक र पाहुना पनि मेरो प्राथमिकतामा छन् ।”
नयाँ संरचना र व्यवस्थापनमा सञ्चालित होटलको भव्य समारोहका बीच औपचारिक उद्घाटन समेत भएको छ । लमजुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले होटलको उद्घाटन गरेका हुन् ।
गत वर्ष कोभिड–१९ संक्रमण जोखिमसँगै सरकारले जारी गरेको लकडाउनका कारण पर्यटक आगमन बन्द भएपछि त्यहि अवसरलाई सदुपयोग गरी गुरुङले व्यवसाय विस्तार गरेका हुन् । थप नौ वटा सुविधा सम्पन्न कोठासहित संरचना निर्माण गरेका गुरुङले होटल सँगै रेन्बो ट्राउट माछा पालन व्यवसाय पनि सुरू गरेका छन् । होटल संरचनासहित सबै सेवा सुविधा व्यवस्थापनका लागि साढे दुई करोड लगानी भएको सञ्चालक गुरुङले बताए ।
दैनिक तिनसयको हाराहारीमा पर्यटकहरुको आगमन हुने अन्नपूर्ण पदमार्ग अहिले कोरना संक्रमण जोखिमकै कारण अझैपनि सुनसान जस्तै छ । हाल देशकै संक्रमणकालिन अवस्थाले गर्दा अपेक्षित व्यवसाय नभएपनि भविष्यमा यसले निरन्तरता पाउने व्यवसायी गुरुङले विश्वास व्यक्त गरे ।
“हामीले दिर्घकालिन सोचका साथ व्यवसाय सञ्चालन गरेका हौँ” गुरुङले भने, “विश्वनै कोरोनाले आक्रान्त भएको यो संक्रमणकालिन अवस्थालाई अवसरको रुपमा प्रयोग ग¥यो भने भविष्य उज्वल देखेको छु ।”
पछिल्लो समय स्याँगे आफैंमा पनि पर्यटकीय गन्तव्य बन्दै गएको छ । होटल नजिकै रहेको स्याँगे झरना र हालसालै निर्माण भएको जिपलाइनले संक्रमणकालीन समयमा पनि दैनिक सयौंको सँख्यामा आन्तरिक पर्यटकलाई आकर्षण गरेको छ ।
स्याँगे झरनाको अवलोकन र जिपलाइनको अनुभव लिन पुगेका आन्तरिक पर्यटकहरुले गुरुङले सञ्चालन गरेको रेन्बो ट्राउट माछाको स्वादमा रमाउने गरेका छन् । व्यावसायिक रेन्बो ट्राउट माछा पालन व्यवसाय सञ्चालन गरेसँगै पर्यटकहरु थप आकर्षित भएको व्यवसायी गुरुङको भनाइ छ ।
मस्र्याङदी गाउँपालिका अन्तर्गतनै रहेका च्याम्चे झरना, अक्टोपस झरना, घेर्मुको रकगार्डेन अवलोकनका लागि पुग्ने गरेका पर्यटकहरु ट्राउट माछाको स्वाद लिन आफ्नो होटलमा आउने गरेको व्यवसायी गुरुङले बताए । सो बाहेक खानीगाउँ, छापा, मिप्रालगायत होमस्टे पुगेका पर्यटकहरु पनि स्याँगेको जिपलाइन पुग्ने र ट्राउट माछाको स्वादमा रमाउने गरेका छन् ।

समुदायमा डष्टविन वितरण

पर्यटन व्यवसायी नरबहादुर गुरुङले मस्र्याङदी गाउँपालिका–४, स्याँगेको समुदाय र सार्वजजिक स्थानका लागि डष्टविन वितरण गरेका छन् । स्थानीय बजार, समुदाय र पर्यटकीय गन्तव्य बनेको स्याँगे झरना जिपलाइनका विभिन्न स्थानमा राख्नका लागि डष्टविन वितरण गरेको व्यवसायी गुरुङले बताए । पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढेसँगै वातावरण प्रदुषण बढेको भन्दै त्यसको व्यवस्थापनका लागि स्थानीय समुदायमा डष्टविन वितरण गरेको व्यवसायी गुरुङले बताए ।
पर्यटकहरुले प्रयोग गरेका प्लाष्टिक, कागज तथा अन्य वस्तु जथाभावी नफालुन र वातावरण प्रदुषित नहोस भन्ने उद्देश्यसहित सार्वजनिक स्थानका लागि डष्टविन वितरण गरेको गुरुङको भनाइ छ ।
होटल व्यवसायी गुरुङले व्यवसायसँगै सामाजिक काममा पनि आफ्नो सक्रियता कायम राख्ने बताएका छन् । आफ्नो व्यसायबाट प्राप्त मुनाफाको केही प्रतिशत नियमित समाजिक कार्यमा खर्चने गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्