Logo

बारपाकमा गोठमै भेडा स्वास्थ्य शिविर

गोरखाको बारपाकमा गोठमै भेडा स्वास्थ्य शिविर सम्पन्न भएको छ । बारपाक सुलिकोट गाउँपालिकाले वडा नं १ र २ बारपाकमा किसानको घुम्ती गोठमै भेडा स्वास्थ्य शिविर गरेको हो । ऊन विकासका लागि भेडा प्रवद्र्धन कार्यक्रमअन्तर्गत शनिबार शिविर आयोजना गरेको हो । शिविरमा भेडाको स्वास्थ्यमा देखिएको समस्या र रोगको पहिचान गरी आवश्यक उपचार गर्नुका साथै औषधि पनि वितरण गरिएको पशु सेवा शाखाका प्रमुख डाक्टर अमृत पोखरेलले जानकारी दिए । “व्यवस्थित रूपमा स्वस्थ्य भेडा उत्पादनका लागि पालनपोषणमा ख्याल गर्नुपर्छ,” उनले भने, “स्थानीयस्तरमा भेडाको बच्चाको मृत्युदर बढी पनि देखियो । त्यसैले भेडाको स्वास्थ्य शिविर गरेर स्वस्थ्य भेडा उत्पादनका लागि किसानलाई सहजीकरण गरेका हौं ।” बारपाकमा मात्रै करिब ३३ सय भेडा रहेका गाउँपालिकाको तथ्यांक छ । यी सबै भेडालाई समेटने गरी आवश्यक औषधि किसानलाई वितरण गरेको उनले जानकारी दिए ।
गाउँपालिकाले वडा नं १ र २ मा भेडाको ऊन उत्पादनमा वृद्धि तथा बजारीकरण गरी व्यावसायिक भेडा पालनलाई सम्मानित पेशाका रूपमा स्थापित गरेर किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले भेडा प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गरिरहेको छ । कार्यक्रमअन्तर्गत समूहलाई ऊन काट्ने मेसिन, सोलार, त्रिपाल, ऊन धुने मेसिन, उन्नत चर्खा तथा थुमा वितरण गर्ने तयारी भइरहेको पशु सेवा शाखाका प्रमुख डाक्टर पोखरेलले जानकारी दिए । बारपाकका स्थानीयले अहिले बरुवाल जातको भेडा पाल्दै आएका छन् । अब उन्नत जातको भेडापालनमा पनि किसानलाई प्रोत्साहन गर्ने उनले बताए । “स्थानीयले परम्परागत रूपमा भेडापालन गर्दै आएका छन्,” उनले भने, “अब व्यवसायीकरण गरेर आधुनिक रूपमा व्यवसाय गर्न कार्यक्रमले सघाउनेछ । ऊन उत्पादन बढाउने कार्यक्रम भएकाले यसले रोजगारीको पनि सिर्जना हुने अपेक्षा गरेका छौं ।”
स्थानीयले अहिले भेडाको ऊनबाट राडीपाखी बख्खु बुन्दै आएका छन् । ती राडीपाखी किसान आफैले प्रयोग गर्ने, आफन्तलाई उपहार दिने र फाट्टफुट्ट रूपमा बिक्री गर्दै आएका छन् । तर अब व्यावसायिक रूपमै ऊन उत्पादन गरेर यसको बजारीकरण गरी किसानलाई आर्थिक रूपमा सशक्त बनाउने लक्ष्य रहेको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख पोखरेलले बताए । संघीय सरकारले देशभरका १० पालिकामा यो कार्यक्रम लागू गरेको छ । जसअन्तर्गत गोरखाको बारपाक सुलिकोट गाउँपालिमा यो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा ३० लाख रुपैयाँ प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्