Logo

कोरोना संक्रमितलाई अक्सिजन निःशुल्क

वीरगन्ज महानगरपालिकामा निःशुल्क अक्सिजन बैंक स्थापना गरिएको छ । कोभिड संक्रमणको कारण अप्ठ्यारोमा परेका नागरिकको जीवन रक्षाका लागि महानगरपालिका र लायन्स क्लव इन्टरनेशनलको साझेदारीमा मंगलबारदेखि निःशुल्क अक्सिजन बैकको स्थापना गरिएको हो ।
वीरगन्ज महानगरपालिकाले अक्सिजनको अभावका कारण जीवन जोखिममा रहेका महानगरपालिकामा वसोवास गर्ने कोरोना संक्रमित नागरिकको जीवन रक्षाका लागि निःशुल्क अक्सिजन वितरण गर्न लागेको नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए । कोभिड संक्रमित भई होम आइसोलेशनमा उपचार गराइरहेका नागरिकको जीवन रक्षाका लागि आवश्यक पर्ने औषधि, अक्सिजन र त्यसमा लाग्ने किट समेत निःशुल्क वीरगन्ज महानगरपालिका कार्यालयमा स्थापना गरिएको अक्सिजन बैंकबाट वितरण गरिने व्यावस्था मिलाइएको लायन्स क्लव अफ इन्टरनेशनलका पूर्व निर्देशक संजय खेतानले बताए ।
होम आइसोलेशन वाहेक वीरगन्जका अस्पतालमा समेत उपचारार्थ भर्ना भएका कोभिड विरामीहरुको लागि समेत अस्पतालमा सहज रुपमा अक्सिजन व्यवस्था नभएमा महानगरपालिका रहेको अक्सिजन बैंकबाट निःशुल्क रुपमा अक्सिजनको सिलिन्डर सहित त्यसमा लाग्ने किट उपलब्ध गराइने नगर प्रमुख सरावगीले बताए । अक्सिजन प्रयोगपछि पुनः वीरगन्ज महानगरपालिकाको अक्सिजन बैकमा खाली सिलिण्डर फिर्ता गर्नुपर्ने शर्त राखेर कोभिड विरामीका लागि अक्सिजन वितरण गरिने लायन्स क्लवका पूर्व काउन्सिलर चेयरमेन रमेश अग्रवालले जानकारी दिए ।
होम आइसोलेशनमा उपचार गराई रहेका विरामीहरुको स्वास्थ्य अवस्था जानकारी लिन हरेक वडा कार्यालय मार्फत प्यारामेडिकल सहितको स्वास्थ्यकर्मी परिचालन गरिएको नगर प्रमुख विजय कुमार सरावगीले बताए । वीरगन्जकै नेशनल अक्सिजन इन्डस्ट्रिजले तीन दिन अघि महानगरपालिकाको कार्यालयलाई सुलभ मूल्य अक्सिजनको रकम लिएर १ सय ५० सिलिण्डर अक्सिजन उपलब्ध गराएको थियो ।
वीरगन्ज महानरपालिका कार्यालयले ३ हजार थान एन्टिजेन किट खरिद गर्ने प्रक्रिया समेत सुरु गरिसकेको महानगरपालिकाका इन्जिनियर सुनिल कुमार कर्णले बताए । यसबाहेक महानगरपालिका कार्यालयले हालै २ थान एम्बुलेन्स र १ थान शववाहन समेत खरिद गरेको जानकारी उनले दिए ।
एम्बुलेन्स आवश्यक स्थानमा राख्ने र शववाहन नेपाली सेनालाई जिम्मा लगाइएको छ । वीरगन्जका अस्पतालका लागि १५ थान भेन्टिलेटर खरिदको प्रक्रिया पनि महानगरले अघि बढाएको कर्णले जानकारी दिए । वीरगन्जका होटल र धर्मशालाहरूमा आइसोलेसन सञ्चालन गर्न गृहकार्य पनि भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्