आमा बचाउने पुस्तक विमोचन «

आमा बचाउने पुस्तक विमोचन

सचेतनाको कमीका कारण मृत्युको मुखमा पुगेका गर्भवती महिलालाई लक्षित गरी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साहले लेखेको पुस्तक ‘आमा’ मंगलबार विमोचन गरिएको छ ।
लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले प्रकाशन गरेको पुस्तकको विराटनगरकी उपमेयर इन्दीरा कार्की, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल, एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मालगायले विमोचन गरे । डा. साहले लेखेको पुस्तकमा गर्भको तयारी वा योजना, गर्भावस्था, प्रसूति र सुत्केरी अवस्थाका बारेमा घर, परिवार, समाज र स्वयं महिलाले ध्यान दिनुपर्ने कुराहरूबाट खुलस्त लेखिएको छ ।
पुस्तकमा चिकित्सकीय हिसाबले के गर्ने, के नगर्ने, कुन अवस्था सामान्य, कुन अवस्था जटिल भनेर बुँदागत रुपमा चर्चा गरिएको छ । गर्भावस्थामा हुने विभिन्न शारीरिक जटिलता र त्यसको समाधानबारे पनि पुस्तकमा उल्लेख छ । मधुमेह, उच्च रक्तचापदेखि जटिल अवस्थामा कस्तो उपचार अपनाउने भनी जानकारी दिइएको छ । प्रसूति तथा स्त्री रोग विशेषज्ञले लेखेको यो पुस्तक आमा बन्न चाहनेहरूको लागि उपयोगी हुनसक्ने उपमेयर कार्कीको भनाइ छ । “यो पुस्तक निकै निकै नै उपयोगी हुनेछ,” उनले भनिन्, “मलाई लाग्छ यो पुस्तक सबैले अध्ययन गर्ने हो भने प्रसूतिको अवस्थामा कसैले समस्या झेल्नु पर्दैन ।”

प्रतिक्रिया दिनुहोस्