विद्यार्थीको क्याम्पस भर्ना शुल्क नगरपालिकाले तिरिदिने «

विद्यार्थीको क्याम्पस भर्ना शुल्क नगरपालिकाले तिरिदिने

आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट कुनै पनि विद्यार्थी वञ्चित हुन नपरोस् भनेर मोरङको बेलबारी नगरपालिकाले क्याम्पस भर्नामा लाग्ने सम्पूर्ण शुल्क तिरिदिने भएको छ ।
धेरै विद्यार्थीले आर्थिक अभावका कारण पठनपाठन पूरा नगरी बीचमै पढाइ छाड्ने गरेको घटना बाहिर आइरहेको बेला नगरपालिकाले क्याम्पसप्रति विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले भर्ना निःशुल्क गरिदिने भएको हो । कार्यक्रमअन्तर्गत २०७७ /०७८ मा प्रथम वर्षमा भर्ना हुने सबै संकायका विद्यार्थीको भर्ना शुल्क नगरपालिकाले तिरिदिने नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । “आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी उच्च शिक्षा अध्ययनबाट वञ्चिन हुनु नपरोस् भनेर हामीले भर्नामा लाग्ने सबै शुल्क तिरिदिने निर्णय गरेका छौं,” सुवेदीले भने ।
क्याम्पसमा विएड, विविएस र विएमा प्रथम वर्षमा भर्ना हुन आउने सम्पूर्ण नयाँ विद्यार्थीको भर्ना शुल्क लाग्ने छैन ।
विद्यार्थीको भर्ना शुल्कबापतको रकम नगरपालिकाले क्याम्पसलाई उपलब्ध गराउनेछ । प्रथम वर्षमा भर्ना हुने सम्पूर्ण विद्यार्थीलाई यो सुविधा प्रदान गरिने सुवेदीले बताए । मेयर सुवेदी क्याम्पस सञ्चालक समितिका अध्यक्षसमेत हुन् । छुट्टै भूगोल वा फरक पालिका भन्ने जस्ता विषय नहेरी क्याम्पसमा आउने सबै विद्यार्थीको भर्ना शुल्क नगरपालिकाले व्यहोर्ने सुवेदीको भनाइ छ ।
“शिक्षाजस्तो आधारभूत आवश्यकताको विषयमा कमजोर आर्थिक अवस्थाकै कारण उच्च शिक्षा अध्ययनमा बाधा नआओस् भन्ने उद्देश्यका स्थानीय सरकारको दायित्वसमेत पूरा गर्ने प्रयास स्वरुप यस्तो कार्यक्रम ल्याएका हौं,” सुवेदीले भने । बेलबारी नगर कार्यपालिकाले वैशाख ५ गते बसेको कार्यापालिका बैठकले समेत भर्ना शुल्क निःशुल्क गरिदिने निर्णय गरिसकेको उनले बताए ।
यो छात्रवृत्ति कार्यक्रमबाट बेलबारी नगरपालिकाभित्रका मात्रै होइन जुनसुकै पालिकाबाट बेलबारी बहुमुखी क्याम्पसमा अध्ययनका लागि आउने विद्यार्थी लाभान्वित हुने भएका छन् । क्याम्पस प्रमुख खगेन्द्रप्रसाद लुइँटेलका अनुसार प्रथम वर्षमा भर्ना हुन आउनेहरूमा भोजपुर, धनकुटा, तेह्रथुमलगायतका पहाडी जिल्ला तथा बेलबारीसँगका छिमेकी पालिकाहरूका धेरै विद्यार्थी छन् । लुइँटेलका अनुसार क्याम्पसमा नेपाली माध्यममा पढाइ हुने विएड र विविएस प्रथम वर्षको भर्ना शुल्क ६ हजार १ सय ५ र अंग्रेजी माध्यमका लागि ६ हजार २ सय ५ रुपैयाँ रहेको छ ।

२०६५ सालमा स्थापना भएको क्यापसमा शिक्षा शास्त्र, व्यवस्थापन तथा मानविकी सकायको पठनपाठन हुने गरेको छ । तीनवटै सकायमा अध्ययन गर्न आउने विद्यार्थीहरूको भर्नाबापत लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले व्यहोरिदिने गरी वैशाख ५ गतेको नगर कार्यापालिकाको बैठकले निर्णय गरेको छ । लामो समयसम्म भाडाको भवनमा कक्षा सञ्चालन गरिरहेको क्याम्पसले हालै आफ्नै नयाँ भवनमा पठनपाठन सुरु गरेको छ ।
गरिबीका कारण विद्यार्थीको भर्नादर न्यून रहने गरेको, बीचमै कक्षा छाड्ने क्रम बढिरहेका बेलामा नगरपालिकाको निर्णयले विद्यार्थी संख्या बढ्नेमा क्याम्पस प्रमुख लुइँटेल विश्वास छ । नगरपालिकाले नगरको एकमात्र बहुमुखी क्याम्पसको शैक्षिक उन्नयनमा ठूलो भूमिका खेलेकोमा क्याम्पस प्रमुख लुइँटेलले खुसी व्यक्त गरे । उनले भने, “नगरपालिकाको यो निर्णयले विद्यार्थी भर्नादर बढ्नेमा हामी विश्वस्त छौं ।”
आर्थिक अभावका कारण कसैले पनि उच्च शिक्षा पढ्नबाट बञ्चित हुनु नपरोस, बीचमै पठनपठन छोड्नु नपरोस् भन्ने उद्देश्यका साथ विद्यार्थीको भर्ना शुल्क नगरपालिकाले तिरिदिने निर्णय गरेको मेयर सुवेदीले बताउँछन् । क्याम्पसलाई आवश्यक पर्ने आर्थिक, भौतिक तथा अन्य सबैखाले सहयोग गर्न नगरपालिका तयार रहेको उनले सुनाए । बेलबारी नगरपालिकाले बेलबारी बहुमुखी क्याम्पसलाई ल्यापटप, कम्पयुटर तथा प्रोजेक्टरसमेत वितरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्