अविश्वास प्रस्तावमा जसपाको अल्झन
अन्नपूर्ण
जनता समाजवादी पार्टी (जसपा)को अन्योलका कारण कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सकेका छैनन्् । बुधबार अविश्वास प्रस्ताव ल्याउने तयारी गरे पनि जसपाले निर्णय नगरेकाले त्यसको सम्भावना न्यून देखिएको छ ।
माओवादी केन्द्रले कांग्रेसलाई अविश्वास प्रस्तावमा तयार गरे पनि अझै जसपा तयार भएको छैन । जसपामा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समूह अविश्वास प्रस्तावको पक्षमा देखिएको छ । महन्थ ठाकुर र राजेन्द्र महतो समूह भने प्रधानमन्त्री ओलीकै पक्षमा छन् ।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जसपाको निर्णय आएलगत्तै अविश्वासको प्रस्तावको प्रक्रिया अघि बढ्ने बताए । ‘बल्लतल्ल कांग्रेस तयार भएको छ । अझै जसपाको निर्णय आएको छैन’, नेता श्रेष्ठले भने, ‘यो सरकारविरुद्ध हामी अविश्वास प्रस्ताव ल्याउन तम्तयार छौं । जसपा सहमत हुने बित्तिकै दर्ता हुन्छ ।’
माओवादी केन्द्र छिटोभन्दा छिटो वर्तमान ओली सरकार विस्थापन गर्ने पक्षमा छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवा मनाउनै समय लाग्यो । माओवादी केन्द्र एमसीसीमा लाग्न सहमत भएकाले देउवा अविश्वासको प्रस्ताव ल्याउन सहमत भएको स्रोतको दाबी छ । नेता श्रेष्ठले यो भ्रमपूर्ण रहेको बताए । सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन अग्रसर माओवादी केन्द्रले अझै समर्थन फिर्ता लिएको छैन ।
जसपामा ठाकुर र महतोको पक्षमा २३ भन्दा बढी सांसद देखिएका छन् । डा. भट्टराई र यादवको पक्षमा १० जना पनि नरहेको जनाइएको छ । ३४ सांसद रहेको जसपाका दुई सांसद निलम्बनमा छन् । अविश्वास प्रस्तावबारे जसपाका शीर्ष नेताको बैठक भए पनि कुनै निर्णय हुन सकेको छैन । भट्टराई र यादवको दबाबमा मंगलबार राखिएको बैठक कुनै निश्कर्षबिना सकिएको छ । शीर्ष नेताहरूबीच केन्द्रीय कार्यकारिणी बैठक बोलाउने विषयमा विवाद भएको जनाइएको छ ।
प्रतिनिधिसभामा २ सय ७१ सांसद छन् । माओवादी केन्द्र छोडेर एमालेमा गएका चार जनाको सांसद रिक्त भइसकेको छ । यसको बहुमतका लागि १३६ सांसद आवश्यक पर्छ । एमालेसँग १२१ सांसद छन् भने कांग्रेससँग ६२ (विजयकुमार गच्छदार निलम्बनमा), माओवादीका केन्द्र ४९ (चार जनाले पार्टी छोडे), जसपाका ३२ ( दुई निलम्बनमा) छन् ।
माओवादी केन्द्र एमालेको माधवकुमार नेपाल समूहका सांसदले फलोर क्रस गरेर अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्नेमा विश्वस्त देखिएको छ । ठाकुर र महतो पक्ष नआए पनि डा. भट्टराई र यादव समूह साथ लिए बहुमत पुग्ने आँकलन कांग्रेस र माओवादी केन्द्र गठबन्धनको छ ।