कहिले पाउला कोल्टीले डाक्टर !

जीवन कैला–
बाजुराको बुढीनन्दा नगरपालिका–१ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी फेरि डाक्टरविहीन बनेको छ । स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर राजुराज जैशी गएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको हो । करिब एक वर्षदेखि दुर्गम क्षेत्र कोल्टीमा रहेर सेवा दिँदै आएका डाक्टर जैशी सोमबार बिदाइ भएर गएका छन । दुर्गम क्षेत्रमा बसेर नागरिकको सेवामा सर्मपित रहनुभएका जैशीको एक वर्षे कार्यकाल सकिए पछि बाजुराबाट बिदाइ भएर जानुभएको स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।
सरकारी स्कुलरसिपमा अध्ययनरत स्वास्थ्यकर्मीले २ वर्ष अनिवार्यरुपमा दर्गममा रहेर सेवा दिनुपर्ने सरकारको प्रावधान रहेको छ । सोही नीति अनुरुप दुर्गम क्षेत्रमा रहेर सेवा दिएका डाक्टर जैशीको कार्य अवधि सकिएकोले विदाई भएर जानुभएको जनस्वास्थ्य निरीक्षक ओमजङ शाहीले जानकारी दिए । दुई वर्षका लागि बाजुरा आएका डाक्टर जैशीले एक वर्ष जिल्ला अस्पताल बाजुरामा सेवा दिएका थिए भने एक वर्ष प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा सेवा प्रदान गरेको उनले बताए । बाजुराको करिब दुई वर्षको बसाई पछि जैशीकोे कार्य अवधि सकिएको बताइएको छ ।
दुर्गम क्षेत्रमा डाक्टर आउन आनाकानी गरीरहेका बेला जैशीले दुर्गम क्षेत्रमा रहेर दिन रात नभनी नागरिकलाई सेवा दिँदै आएका थिए । डाक्टर जैशीले कोल्टी छोडेर गएपछि प्राथमिक स्वास्थ्य केन्द्र अहिले पुरानै अवस्थामा फर्किएको छ । अर्काे डाक्टर आउन नआउने कुनै पत्तो छैन । डाक्टरविहीन बनेको करिब एक वर्षपछि कोल्टीले बल्ल–बल्ल डाक्टर पाएको थियो । लामो संघर्ष र विभिन्न चुनौतीका साथ कोल्टीले पाएको डाक्टर जैशीको बिदाइपछि नागरीकमा थप चिन्ता थपिएको स्थानीयले बताएका छन । सामान्य उपचार बाहेक अन्य जटिल खालको उपचारका लागि सुविधा सम्पन्न ठाउँमा जानुपर्ने बाध्यता भोग्दै आएका स्थानियलाई बिरामी हुँदा के गर्ने भन्ने चिन्ताले सताएको स्थानीयको गुनासो छ ।
बाजुरालगायत हुम्ला, कालिकोट र मुगुका नागरिकलाई गुणस्तरीय सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले अब कहिले डाक्टर पाउने हो, नागरिक अलमलमा छन । नागरिकमा उपचारका लागि पैशा नहुदाको पीडा एका तिर छ भने अर्कातिर बिरामी हुदाको पीडा कायमै रहेको छ । जनस्वास्थ्य निरीक्षक शाहीका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा १२ जनाको दरवन्दि रहेको छ । एक जना मेडिकल अधिकृत, एक जना हेल्थ असिष्टेन्ट, एक जना स्टाफ नर्स, तीन जना अनमि, तीन जना अहेव, एक जना ल्याप असिष्टेन्ट र २ जना कार्यालय सहयोगिको दरवन्दि रहेको उहाँले बताए । तर अहिले स्वास्थ्य कार्यालयमा तीन जनाको दरबन्दी खालिरहेको छ ।
अन्य दरवबन्दी परिपूर्ति भए पनि मेडिकल अधिकृत, हेल्थ असिष्टेन्ट र स्टाफ नर्सको दरबन्दी खालि रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ । स्वास्थ्य केन्द्रमा दरवन्दि अनुसारका स्वास्थ्यकर्मी नहुदा सेवा प्रवाहामा समस्या देखिएको छ । हाल दैनिक ८० देखि ९० जना सम्म सेवाग्राही आउने स्वास्थ्य केन्द्र अहिले अहेव र अनमिबाट सेवा प्रदान भएको बताइएको छ । स्थानीय सरकारले दरबन्दी अनुसारका स्वास्थ्यकर्मी ब्यवस्थापनमा पहल गरी स्वास्थ्य सेवालाई मजवुत वनाउनु पर्ने अवस्थामा उल्टै ब्यखवर वनेको नागरीकले गुनासो गरेका छन् ।
कोरोना महामारीको लहरमा एक जना चिकित्सक अनिवार्य गर्नुपर्ने भए पनि बुढीनन्दा नगरपालिकाले भने रिक्त दरबन्दी पनि पदपूर्ति गर्न नसकेको स्थानियले बताएका छन । अहिले स्वास्थ्य केन्द्र कोल्टीमा अन्य स्वास्थ्यकर्मीले सेवा दिँदै आएका भए पनि जटिल खालका विरामीको उपचार गर्ने डाक्टरको अभाव सृजना भएको छ । जहिले पनि जटिल खालको सेवामा दुख पाउदै आएका स्थानीयमा डाक्टर पाइने होकि होइन भन्ने त्रास देखिएको छ ।