निगालो प्रशोधन उद्योग सञ्चालन «

निगालो प्रशोधन उद्योग सञ्चालन

जुम्लाको हिमा गाउँपालिकामा जिल्लामै पहिलो पटक जंगलमा पाइने निगालो प्रशोधन उद्योग सञ्चालन गरिएको छ । पुख्यौली पेशालाई आर्थिक आम्दानी तथा व्यवसायसँग जोड्न हिमा गाउँपालिका ७ जना स्थानीयको संयुक्त लगानीमा निगालो प्रशोधन उद्योग सञ्चालन भएको हो ।
विगतमा निगालोबाट बनेका डोको, टपरी, डालो, मुडा, सुपो पिँजडालगायतका सामग्री अन्नपातसँग साटिन्थ्यो । तर समयको विकाससँगै पुर्खेली सीपलाई आय–आर्जनसँग जोड्न उद्योग सञ्चालन गरेको जुगेनी निगालो प्रशोधन उद्योगका सञ्चालक नन्दबहादुर अधिकारीले बताए ।
“उद्योगमा निगालोबाट डोको, डालो, मुडा, मुगाला, सिन्के टोकरी, सोली, सुपा, भकारी, दराज, पिँजडा, छ्यान्नो स्याकुलगायत १४ प्रकारका सामग्री निर्माण भइरहेका छन्” उनले भने, “पेश नेपालले प्राविधिक सहयोगसहित तालिम दिएपछि उद्योग सञ्चालन गरेका हौं ।”
सीपलाई चामल पिठोसँग साट्ने विगतको परम्परा भन्दा आर्थिक आम्दानीसँग जोड्न महत्वपूर्ण भएकाले जंगलमा पाइने निगालोलाई प्रशोधन गरी उपभोक्ताको माग अनुसार बनाएर बेच्दा अहिले मनग्य कमाई भइरहेको उनको भनाइ छ ।
जिल्लामै पहिलोे सञ्चालित निगालो उद्योगलाई हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले सीपलाई आर्थिकसँग जोड्न प्रविधि र लगानीको अभाव नरहेको बताए । निगालो उद्योगको निरन्तरता र विकासमा पालिकाले आवश्यक सहयोग गर्ने उनले आस्वासन दिए ।
यता पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानले निगालो उद्योग सञ्चालनमा आफूहरुले प्राविधिक सहयोग, औजार तथा तालिम दिएको बताए । उनले भने, “वैज्ञानिक वन व्यवस्थापनलाई ध्यानमा राख्दै निगालो संकलन गर्ने, आधुनिक मोडेलका सामग्री बनाउन सिकाएका छौं । सीपको सम्मान, रोजगारी र आर्थिक आम्दानी हुने अपेक्षा पनि गरिएको छ ।”
खेतीपाती मलजल गर्न तथा विभिन्न काममा प्रयोग हुने डोको, डालो, सुपालगायतका निगालोका सामग्री बनाएर बेच्ने र परिवारको गुजरा चलाउने नागरिक जुम्लामा धेरै छन् । हिमा गाउँपालिका ६ का गंग अधिकारीले भने,“डोको बनेरै म परिवार चलाउँछु । एक वर्ष अघिसम्म गाउँघरमा मेरा छोराछोरीलाई डोको बुन्नेका सन्तान भनेर गिज्याउने गर्थे । तर अहिले निगालो उद्योग नै सञ्चालन हुँदा म खुसी छु । मेरो पेशा पनि सम्मानीत भएको छ ।”
जेष्ठ नागरिकहरुले सञ्चालन गरेको निगालो उद्योगलाई निरन्तरता दिन युवा पुस्ता सीप हस्तान्तरण गर्न आवश्यक रहेको छ । निगालोबाट बन्ने सामग्री युवा भन्दा जेष्ठ नागरिकले बढी बनाउँछन् । परम्परागत सीपलाई पुस्तान्तरण गर्ने खालका कार्यक्रममा स्थानीय सरकारले जोड दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्