शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरू असन्तुष्टि
सरकारले कोभिड–१९ संक्रमित बिरामीका लागि आवश्यक पर्ने अक्सिजन व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका छन् ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा उपस्थित सांसदहरूले सरकारले कोभिड बिरामीको उपचारका लागि अक्सिजनको आवश्यकता अपरिहार्य भए पनि त्यसको व्यवस्थापनमा ध्यान निदएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका हुन् । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले कोभिड बिरामीको उपचारको लागि अक्सिजनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । अहिले थुप्रै अस्पतालहरूमा भएका अक्सिजन प्लान्टहरू बिग्रिएको अवस्थामा रहेको तर सरकारले मर्मत गरी सञ्चालन गर्ने कुरामा ध्यान नदिएको बताए । उनले अक्सिजन प्लान्ट पनि तत्काल थप्न माग गरे । त्यसबाहेक पीसीआर परीक्षण गत वर्षको जति पनि नभएको भन्दै समुदाय स्तरमा पुगेर परीक्षण गर्नुपर्ने बताए । देशभरका अस्पतालहरूमा रहेको भेन्टिलेटर, अक्सिजन र बेडहरूको अडिट गरी विरामीले सहजै पाउने व्यवस्था गर्न मन्त्रालयको ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले नेपालमा २० वटा अक्सिजन प्लान्ट कम्पनीहरू रहेको तर मन्त्रालयले एक दिन पनि अक्सिजन आपूर्तिको विषयमा उनीहरूसँग छलफल नगरेको बताए । यसबाट मन्त्रालय कति लापरवाह छ भन्ने कुरा प्रष्ट भएको पनि बताए । वीर अस्पताल, पाटन अस्पताल, धरान अस्पताललगायतका अस्पतालमा रहेका अक्सिजन प्लान्टहरू बिग्रिएको तर मर्मत गरेर चलाउन सरकारले चासो नदिएको पनि बताए ।
नेकपा (एमाले)का सांसद खगराज अधिकारीले कोभिड बिरामीको उपचारको जिम्मा संघीय सरकारले लिनुपर्ने, पीसीआर परीक्षणको जिम्मा प्रदेश सरकार र कन्ट्याक्ट ट्रेसिङको जिम्मा स्थानीय तहले लिने गरी कार्यविभाजन गर्दा प्रभावकारी हुने बताए । उनले जनशक्ति, औषधी, इक्युपमेन्ट, बेड र अक्सिजन बढाउने कुरामा ध्यान दिन मन्त्रालयलाई आग्रह गर्नुभयो ।
नेकपा (एमाले)का सांसद जीवन राम श्रेष्ठले कोभिड विरामीको उपचारको लागि सरकारको तयारीको पक्ष कमजोर रहेको बताए । गत वर्षभन्दा राम्रो तयारी हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । सरकार योजना बनाउने तर कार्यान्वयन नगर्ने अवस्थामा रहेको पनि बताए । उहाँले पनि अस्पतालमा आवश्यक पर्ने अक्सिजनको अभाव रहेको बताए ।
नेकपा (मओवादी केन्द्र)की सांसद अन्जना विशंखेले पहुँच हुने सांसदहरूले आफ्नो क्षेत्रमा स्वास्थ्य सामग्री लगेको लग्यै गर्ने र पहुँच नहुनेको क्षेत्रमा रहेका अस्पतालहरूमा समान्य माक्ससमेत नजाने अवस्था रहेको बताए ।
सांसदहरूले अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुन नदिनको लागि छोटो समयका लागि जनशक्ति नपाए एक वर्षका लागि भए पनि करारमा लिनुपर्नेमा जोड दिएका छन् । अहिले काम गरिराखेका स्वास्थ्यकर्मीहरूले गत वर्षको पाउनुपर्ने सुविधा समेत नपाएको अवस्थामा उनीहरूको मनोवल बढ्न नसक्ने भएकाले त्यसतर्फ ध्यान दिन पनि मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।