तरलता व्यवस्थापनको कार्ययोजना बनाउन सहकारीलाई निर्देशन
सहकारी विभागले तरलता व्यवस्थापनका लागि कार्ययोजना बनाउन सहकारी संघसंस्थालाई निर्देशन दिएको छ । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि विभागले निर्देशन जारी गर्दै तरलता अभाव हुन नदिन निर्देशन दिएको हो ।
गत वर्ष लकडाउनको समयमा तरलताको अभाव भएपछि सहकारी संघसंस्थाले आफ्नो सेवा बन्द गरेका थिए । लकडाउनका लागि दैनिक उपभोग्य सामान खरिद गर्नका लागि सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाबाट रकम निकाल्ने भएकाले रकम फिर्ता गर्न तरलताको चाप पर्छ । यस समयमा वित्तीय संस्थाहरुमा निक्षेप संकलनका साथै ऋण असुलीमा समेत प्रभाव पर्ने भएकाले तरलता अभाव हुनसक्ने विभागले जनाएको हो ।
देशभर २९ हजार सहकारी संस्थामध्ये अधिकांश सहकारीले वित्तीय कारोबार गर्दै आएका छन् । वित्तीय क्षेत्रमा हुने कुल कारोबारमध्ये २० प्रतिशत सहकारीमार्फत हुने गरेको अनुमान छ ।
कोभिडको महामारी र लकडाउनका कारण पछिल्लो समय सहकारी संस्थाहरुमा समस्या बढ्दै गएको छ । कतिपय सहकारी संस्थाहरुले सर्वसाधारणको निक्षेप फिर्ता गर्न समेत सकेका छैनन् ।
यसैगरी विभागले भिडभाड नहुने तथा आवश्यक भौतिक दूरी कायम हुनेगरी मात्र सेवा प्रवाह गर्न निर्देशन जारी गरेको छ । त्यस्तै बैठक, तालिम जस्ता कार्यक्रममा भौतिक दूरी सुनिश्चित गर्ने सम्भव भएसम्म यस्ता कार्यक्रम अभौतिक माध्यमबाट गर्न भनेको छ ।
त्यस्तै कर्मचारीलाई समुह विभाजन गरी कार्य गर्ने व्यवस्था मिलाउन र नगद संकलन गर्ने कर्मचारीको आवश्यकता अनुसार पिसिआर परीक्षण गराउन पनि निर्देशन दिएको छ । यसैगरी आवश्यकीय कार्य निरन्तरताका लागि स्वीकृत कार्य योजना तयार गरी समयानुकुल अद्यावधिक गर्न समेत निर्देशनमा भनिएको छ ।
यसैगरी सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघले पनि सहकारी संघ÷संस्थाहरूलाई सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड पालनाका साथै भौतिक दूरी कायम गरेर वस्तु तथा सेवा प्रवाह गर्न अनुरोध गरेको छ । महासंघका अध्यक्ष मिनरा कँडेलद्वारा जारी सूचनामा सीमित जनशक्तिबाट आलोपालो कार्यालय सञ्चालन हुनेगरी सेवा प्रवाहमा निरन्तरता दिन भनिएको छ ।
त्यस्तै संघ÷संस्थाको बैठक, अन्तरक्रिया, गोष्ठी, तालिमलगायतका कार्यक्रम भर्चुअल माध्यमबाट गर्न र स्थानीय तहसँग समन्वय गरी सहकारी कार्यालय वरपर क्षेत्रको व्यवस्थापनका लागि सहजीकरण गर्न महासंघले अपिल गरेको छ । महामारी सक्रमणको शंका लागेमा परीक्षण, सक्रमितलाई आइसोलेसन र कन्ट्रयाक टे«सिङमा परेकालाई परीक्षणका लागि आवश्यक समन्वय गर्न समेत अपिल गरेको छ ।