अति प्रभावित क्षेत्रमा मात्र नियन्त्रित लकडाउन गर्न सुझाव
नेपाल उद्योग परिसंघ (सीएनआई) ले कोरोनाको संक्रमणका कारण जटिल भएका क्षेत्रमा नियन्त्रित रुपमा मात्र लकडाउन गर्न माग गरेको छ । सीएनआईको पदाधिकारी बैठकले कोरोनाको दोस्रो लहरसँगै देशमा देखिएको असहज परिस्थितिमाथि गम्भीर छलफल भएको छ । पछिल्लो समय भारतमा देखिएको गम्भीर परिस्थिति र नेपालमासमेत कोरोना भाइरसको जोखिम बढ्दै गइरहेको सन्दर्भमा सरकार र उद्योग क्षेत्रले गर्नुपर्ने त यारीका बारेमा पनि छलफल भएको छ ।
कोरोना संक्रमितको संख्या प्रत्येक दिन बढ्दै गएकाले सरकारले खोप खरिद प्रक्रियालाई प्राथमिकतामा राखी तुरुन्त खोप लगाउने कार्य थाल्न सीएनआईले सुझाव दिएको छ । खोप आयातमा निजी क्षेत्रलाईसमेत सामेल गराएर अरु देशका खोपलाई फास्ट ट्रयाकमा अनुमति प्रदान गरी खोपलाई अभियानको रुपमा नेपालभर पु¥याउन पनि सीएनआईले माग गरेको छ ।
परिसंघले अहिलेको अवस्थामा आपूर्ति व्यवस्थालाई सुदृढ गर्नका लागि उद्योग व्यवसाय र यातायात क्षेत्रमा काम गर्ने कर्मचारी र मजदुरलाई खोपको व्यवस्था गर्न माग गरेको छ । यसैगरी, अक्सिजनको आपूर्ति व्यवस्थालाई सहज बनाउन उद्योगहरुसँग समन्वय गरी अक्सिजन सिलिण्डरको आयातमा भन्सार छुट दिने र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिन सरकारसँग आग्रह गरिएको छ ।
हामीले कोभिडको पहिलो लहरबाट पाठ सिकेर उपचारमा आवश्यक बेड, औषधि, भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्रीको अभाव हुन नदिन अहिले नै तयारी गर्नुका साथै क्षमता अभिवृद्धिसमेत गर्न परिसंघको सुझाव छ । निजी क्षेत्रले कोभिडको नियन्त्रण गर्न औषधि एवं स्वास्थ्य उपकरण र खाद्य क्षेत्रमा कुनै खर्च गरेमा त्यसलाई सामाजिक उत्तरदायित्वको रुपमा लिएर आयकरमा छुटको व्यवस्था गरेमा कोभिड विरुद्धको युद्धमा सहभागी हुन निजी क्षेत्रलाई उर्जा प्रदान हुने परिसंघले सुझाव दिएको छ ।
दैनिक उपभोग्य वस्तुको आपूर्तिका लागि उद्योगमा कार्यरत श्रमिकले सुरक्षाका प्रोटोकल बनाई, तिनीहरुको पूर्ण पालना गरी त्यस्ता उद्योगधन्दालाई सञ्चालन गर्न छुट दिन पनि भनिएको छ ।
सरकारले कोरोनाको जोखिम कम गर्न तोकेका मापदण्डहरुको बेवास्ता गर्नाले अवस्था अनियन्त्रित बन्दै गइरहेको तर्फ संकेत गर्दै सीएनआईले सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड पालना गराउन जोड दिएको छ ।