Logo

निवर्तमान अध्यक्ष भवन भट्टको १० करोडको संस्थापक सेयर हाल्ने प्रतिबद्धता

एनआरएन डेभलपमेन्ट फन्डको रकम जुट्न सुरु

पूर्वाधार तथा उत्पादनशील क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँ पुँजी भएको एनआरएन नेपाल डेभलपमेन्ट फन्डको रकम जुटाउने प्रक्रिया सुरु भएको छ ।
जसअनुरुप सस्ंथापक सेयरधनीको लागि प्रथम चरणको आह्वान गरिएको फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले बताए । त्यसपछि दोस्रो चरणमा पनि संस्थापक थपिनेछन् र त्यसपछि मात्र प्राथमिक निष्कासनमा जाने उनले बताए ।
२०७५ सालमा सम्पन्न लगानी सम्मेलनमा नेपाल सरकारका तर्फबाट लगानी बोर्डका तत्कालिन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी तथा गैरआवासीय नेपाली संघका तत्कालीन अध्यक्ष भवन भट्टले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । जसअनुरुप सरकारको ५० करोड रुपैयाँ सेयर लगानीसहित गैरआवासीय नेपाली प्रवद्र्धक रहेको कम्पनीमा करिब साढे २ अर्ब रुपैयाँको वैदेशिक मुद्रामा लगानी प्राप्त भइसकेको छ ।
पहिलो चरणको आह्वानअनुरुप नै गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्टले १० करोडको संस्थापक सेयर हाल्ने प्रतिबद्धता जनाइसकेका छन् । भट्टराईका अनुसार गैरआवासीय नेपालीले विदेशी मुद्रामा नै लगानी गर्ने कार्यका लागि सरकारले सहजीकरण गर्ने भएको छ ।
हाल एनआरएन नेपाल डेभलमेन्ट फन्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानी हुने जनाइएको छ । तर यो फन्ड १० अर्बमा सीमित नहुने पनि फन्डका अध्यक्ष उपेन्द्र महतोले बताएका छन् । प्रथम तथा दोस्रो चरणको संस्थापक रकम संकलनपछि गैरआवासीय नेपालीलाई लक्षित गरी प्राथमिक सेयर (आईपीओ) निष्काशन गरिने योजना भएको उनले बताए । जसअनुसार ८ अर्ब रुपैयाँबराबरको साधारण सेयर आउनेछ । संघले यसअघि नै फन्डको लगानी नेपालका कृषि, पर्यटन र पूर्वाधारसँग सम्बन्धित परियोजनामा गर्ने जनाइसकेको छ । उनका अनुसार नेपाल सरकारले ५ प्रतिशत, १५ प्रतिशत संस्थापक र बाँकी ८० प्रतिशत पुँजी साधारण सेयर जारी गरी संकलन गरिने छ ।
प्राथमिक निष्कासन गैरआवासीय नेपालीले मात्रै खरिद गर्न पाउनेछन् । संघले प्रारम्भिक अवधिमा १० अर्ब रुपैयाँ लगानी नेपाल भित्र्याए पनि लगानी बढाउँदै लगेर १ खर्ब पु¥याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्