तरकारी बीउ जोन सञ्चालनपछि किसान उत्साहित

रुकुम-ताजा तरकारी र तरकारी बीउ उत्पादनमा प्रसिद्धि कमाएको रुकुम पश्चिममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत तरकारी-तरकारी बीउ जोन सञ्चालन भएपछि किसान झनै उत्साहित भएका छन् । कार्यक्रममार्फत स्थानीयले उन्नत मूल बीउमा अनुदानका साथै विभिन्न तालिम, भ्रमण तथा अन्य प्रविधि र बीउ बजारीकरणमा सहयोग सहयोग पाउँदै आएका छन् ।
उक्त कार्यक्रम रुकुम पश्चिमको ३ स्थानीयमा सञ्चालित छ । चौरजहारी नगरपालिकाको वडा नम्बर ३ देखि १४ गरी १२ वटा वडा, सानीभेरी गाउँपालिकाको वडा नं. ९ मा र त्रिबेणी गाउँपालिकाको वडा नं. १० मा कार्यक्रम सञ्चालन गरिएको छ । तरकारी-तरकारी बीउ जोन सञ्चालक समितिका संयोजक तिलक शर्माले कृषि क्षेत्रमा राम्रो सम्भावना भएको क्षेत्रमा थप स्तरवृद्धिसहितका कामका लागि कार्यक्रम सञ्चालन हुनु महत्वपूर्ण पक्ष रहेको बताए । उनका अनुसार कार्यक्रम सञ्चालनपछि तीन वटै स्थानीय तहका विभिन्न ठाउँमा जम्मा ९४ वटा ताजा तरकारी र बीउ समूहसमेत दर्ता भएका छन् ।
“यस वर्ष मात्र हाम्रो क्षेत्रमा १ सय हेक्टर जग्गामा मुला, प्याज, काउली र रायोलगायतका तरकारी बीउका लागि खेती गरिएको छ,” संयोजक शर्माले भने, “कार्यक्रममार्फत व्यावसायिक रूपमा ताजा तरकारी र तरकारी बीउको क्षेत्रमा काम गर्ने ब्यक्ति तथा समूहलाई बीउमा अनुदान, प्रबिधि र उत्पादित बस्तुको बजारीकरणमा सहयोग गरिनेछ ।” कार्यक्रममार्फत उन्नत मूलबीउका साथै थोरै जनशक्तिले पनि धेरै र छिटो काम गर्न सक्ने थ्रेसर, हाते ट्याक्टर र ग्रेडिङ मेसिन अनुदानमा दिइँदै आएको छ ।
ज्ञानका लागि कृषि भ्रमण
तरकारी जोन रुकुम सञ्चालक समितिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चितवन, पोखारा र पाल्पामा सञ्चालित जोन तथा सुपरजोनहरूको पनि अवलोकन भ्रमण गरेको छ । उक्त क्षेत्रमा सञ्चालित पोष्ट हार्भेष्ट र कष्टम आयरिङ सेन्टरमा अपनाइएका प्रक्रिया र नयाँ प्रविधीको अवलोलन गरेको जोन सञ्चालक समितिकी सदस्य लक्ष्मी कामीले बताइन् । उनका अनुसार जिल्लामा सञ्चालित कार्यक्रमलाई थप प्रभावकारी बनाउन २५ जना कृषक तथा सरोकारवाला सहभागी थिए । “यो अवलोकन भ्रमणबाट टुक्रे उत्पादनमा नभएर व्यावसायिक उत्पादन गर्नुपर्छ भन्ने चेतनाको विकास भएको छ,” कामीले भनिन, “त्यसका साथै मल्चिङ प्रणालीबाट तरकारी गर्ने तरीका र ताजा तरकारीका लागि थोपा सिँचाइको भूमिकाबारे पनि ज्ञान हासिल भएको छ ।”