मनमोहनको २२ औं स्मृति दिवस
नेपाल कम्युनिष्ट आन्दोलनका शिखर पुरुष एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सोमबार २२ औं स्मृति दिवस ।
नेकपा (एमाले)का संस्थापक अध्यक्षसमेत रहनुभएका पूर्वप्रधानमन्त्री अधिकारीको स्मृतिमा यस वर्ष औपचारिक कार्यक्रम गरी मनाउन नसकिएपनि उनको सम्झनामा विभिन्न व्यक्तित्वहरूले काठमाडौंको सानेपामा पुगेर उनको शालिकमा माल्यार्पण गरेका छन् । मनमोहन स्मृति प्रतिष्ठान र नेकपा एमालेले हरेक वर्ष विशेष कार्यक्रम आयोजना गरी मनाउँदै आए पनि यस वर्ष कोभिड–१९ संक्रमणको जोखिमका कारण कुनै औपचारिक कार्यक्रमको आयोजना भएन् ।
२०५१ सालमा प्रधानमन्त्री निर्वाचित हुनुभएका स्वर्गीय अधिकारी नेतृत्वको सरकारले ‘जेष्ठ नागरिकलाई भत्ता’, ‘आफ्नो गाउँ आफैं बनाउ’ लगायतका लोकप्रिय कार्यक्रमहरू सुरु गरेको थियो । अधिकारी नेतृत्वको सरकारले गरेका लोकप्रिय कार्यक्रमहरू अहिले पनि जनताले स्मरण गरिरहेका छन् ।
वि.सं. १९७८ असार १५ गते काठमाडौंको लाजिम्पाटमा जन्मिएका अधिकारी सरल, शालीन र सादगी जीवन विताउने नेताको रुपमा पनि चिनिनुहुन्छ । स्वर्गीय अधिकारीले स्थापित गर्नुभएका आदर्श, सिद्धान्त र मूल्य मान्यता अहिले पनि अनुकरणीय र सान्दििर्भक रहेको छ । पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ वैशाख १३ गते निधन भएको थियो ।