Logo

कर्णालीका चार सांसद पदमुक्त



नेकपा एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभाका चारजना सांसद पदमुक्त भएका छन् । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सिफारिसमा प्रदेशसभाले उनीहरुलाई पदमुक्त गरेको हो ।
पदमुक्त हुने सांसदहरुमा सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नं. १ (ख) बाट निर्वाचित अमरबहादुर थापा हुन् । उनीहरु चारै जनाले वैशाख ३ गते पार्टीको ह्विप विपरीत नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।
सोमबार बसेको प्रदेशसभाको बैठकमा सभामुख राजबहादुर शाहीले चारजनाको पद रिक्त भएको जानकारी गराए । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ (१) र कर्णाली प्रदेशसभा नियवामली २०७४ नियम १९० बमोजिम एमाले संसदीय दलले चारैजना सांसदले दल त्याग गरेको पत्र प्रदेशसभा सचिवालयलाई जानकारी गराएबमोजिम कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम उनीहरुलाई पदमुक्त गराइएको सभामुखले राजबहादुर शाहीले प्रदेशसभामा जानकारी गराए । हाल थापा प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री, शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बुढा द्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । ज्वाला भने कुनैपनि जिम्मेवारीमा छैनन् ।
सांसदहरु पदमुक्त भएसँगै ४० सदस्यीय कर्णाली प्रदेश सभा सांसदको संख्या ३५ मा झरेको छ । माओवादी छोडेर एमालेमा प्रवेश गरेका धर्मराज रेग्मी यसअघि नै पदमुक्त भइसकेका छन् । अब कर्णाली प्रदेशमा सभामुखसहित एमालेका १६, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । संसदको जोडघटाउमा अब कर्णालीका कांग्रेस निर्णायक बनेको छ । सबै भन्दा ठूलो दल एमाले नै भएपनि अहिले कांग्रेसले माओवादी केन्द्रलाई साथ दिदाँ महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीमा निरन्तरता पाएका छन् ।
मुख्यमन्त्रीका लागि अब ३५ सदस्य भएकाले १८ मत पाउनुपर्ने हुन्छ । जुन माओवादीका १२ र कांग्रेसका ६ जनाले पुगेको छ । तर यदि काँग्रेसले चाहेको खण्डमा मुख्यमन्त्री शाहीको सरकार गिराउन सक्ने सामथ्य राख्दछ । यसअघि नेकपा छँदा थोरै संख्याको प्रमुख प्रतिपक्ष दलको हैसियतमा रहेको काँग्रेस पछिल्लो घटनाक्रमले निर्णायक बनेको छ । मुख्यमन्त्री शाहीलाई समर्थन गरेको काँग्रेसले अहिलेसम्म सरकारमा मन्त्री भने पठाएको छैन् । ‘अब निर्णायक अवस्थामा आइपुगेकाले सरकारमा एक जना मन्त्री पठाउनु भन्दा मुख्यमन्त्री नै लिएर सरकारको नेतृत्व गर्नुपर्छ की भन्ने सोचमा छौँ’ काँग्रेसका एक जना सांसदले भने,‘राजनीतिमा सबै कुरा संभव छ हामीले मुख्यमन्त्री पाउने कुरा अनौठो होइन ।’

प्रतिक्रिया दिनुहोस्