Logo

चितवनमा आइसोलेसन थप्ने तयारी

चितवनमा छिटै ३ सय २० वेडको आइसोलेसन तयार गरिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को सोमबार साँझ बसेको बैठकले भरतपुर महानगरमा कम्तिमा २ सय र अन्य हरेक स्थानीय तहमा २० बेड आइसोलेसन वार्ड तयार गर्ने निर्णय गरेको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जतिसक्दो छिटो आइसोलेसन वार्ड तयार गर्न स्थानीय तहलाई अनुरोध गरिएको बताए । उनले चितवनका निजी अस्पताललाई समेत आइसोलेसन, एचडीयु, आइसीयु र भेन्टिलेटर निर्माण तथा विस्तार गरेर कोभिडका बिरामीलाई सहजरुपमा उपचार गर्ने वातावरण बनाउन ध्यानाकर्षण गराइएको बताए ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले भरतपुर बाहिर २० बेड आइसोलेसन तयार गरिसकिएको बताए । “महानगर बाहिरका हरेक स्थानीय तहमा कम्तिमा २० बेडको आइसोलेसन बनाउने काम अन्तिम चरणमा छ,” उनले भने, “विगतमा सञ्चालन भएका आइसोलेसन पुनः सञ्चालन गर्ने योजना छ ।” उनका अनुसार भरतपुर महानगरले चलाएको वागेश्वरीको ७५ बेडको आइसोलेसन फेरी चलाउने तयारी गरिएको छ । उनका अनुसार चितवनमा पहिलो चरणमा कम्तिमा ३ सय २० बेडको आइसोलेसन तयार हुनेछ ।
कोभिडका बिरामीलाई उपचार गर्न भरतपुर अस्पतालले छुट्टाएको १ सय १० बेडमध्ये आइसीयु १०, एचडीयु २५, आइसोलेसन वार्ड ७५ बेड छन् । चितवन मेडिकल कलेजमा ८४ बेडमध्ये आइसयिु १६, एचडीयु १७, आइसोलेसन ५१ बेड छ । पुरानो मेडिकल कलेजमा ५९ बेडमध्ये आइसीयु १९ र आइसोलेसन ४० वेड छन् । पुष्पाञ्जलीमा ५ बेड आइसोलेसन छ । यसरी हेर्दा चितवनमा हालसम्म २ सय ५८ बेड कोभिडका लागि छुट्टाइएको देखिन्छ । भरतपुर अस्पतालका प्रवक्ता डा. युवानिधि वसौलाले आवश्यक परे थप वेड कोभिडका बिरामीलाई छुटाइने बताए । उनका अनुसार भरतपुर अस्पतालमा कोभिडका बिरामी ४४ जना उपचारमा छन् । “गत वर्ष कोभिडका लागि १७५ बेड छुट्टाएका थियौँ, यसपाली आवश्यकता अनुसार विस्तार गर्छौँ,” उनले भने, “केही दिनमा ५० बेड थप्दै छौँ ।” चितवन मेडिकल कलेजका सञ्चार संयोजक डा. किशोर अधिकारीले बिरामीको चाप बढ्दै गएमा आइसोलेसन वेड पनि सोही अनुसार थपिन बताए । पुरानो मेडिकल कलेज भरतपुरका जनसम्पर्क प्रमुख दुर्गा न्यौपानेले बिरामीको सहजताका लागि आइसोलेसन वेडहरु क्रमशः थपिने बताए ।

सक्रिय संक्रमितको ग्राफ उकालो लाग्दै
स्वास्थ्य कार्यालय चितवनले जिल्लामा कोरोनाका बिरामीको संख्या बढ्न थालेकाले सर्तक रहन अनुरोध गरेको छ । १ वर्षको अवधिमा सबैभन्दा धेरै अघिल्लो वर्षको कार्तिकमा २ हजार १ सय ५८ जनामा संक्रमण र ४४ जनाको मृत्यु भएको थियो । गत वर्षको साउनदेखि उकालो लागेको ग्राफ फागुनमा आएर ९६ जनामा झरेको थियो । गत चैतमा २ जनामा संक्रमण भएकोमा यो चैतमा १ सय ३४ जनामा संक्रमण देखिएको थियो ।
वैशाखमा आइपुग्दा ३ सय ९२ जनामा संक्रमण पुष्टी भैसकेको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले वैशाख लागेपछि संक्रमण दर र मृत्युदर बढेको बताइन् । वैशाखमा मात्रै ४ जना चितवनको कोभिडका कारण मृत्यु भैसकेको छ । चितवनमा सोमबार साँझसम्म १ सय १६ जनाले ज्यान गुमाएका छन् भने ३ सय ९२ जना सक्रिय संक्रमित छन् । यो वैशाखको २, ३, ९ र १० गते कोभिडका कारण एक एक जना चितवनका व्यक्तिले ज्यान गुमाएका थिए । अघिल्लो चैतमा २ जनामा संक्रमण देखा परेको थियो ।

अक्सिजनको समस्या छैन
चितवनका अस्पतालले अक्सिजन अभाव नदेखिएको जनाएका छन् । अक्सिजन सप्लायर्सहरुसँग भएका सम्झौता अनुसारनै नियमित रुपमा अक्सिजन आपूर्ति भएकाले कुनै समस्या नदेखिएको उनीहरुको दावी छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले बिरामीको चाप बढ्दै जादा हुनसक्ने अभावलाई मध्यनजर गरेर बेलैमा रणनीति बनाउन सुझाइएको बताए ।
भरतपुर अस्पतालले भविष्यमा हुनसक्ने जोखिमलाई हेरेर केही दिनमै अक्सिजन सप्लाईका लागि अक्सिजन प्लाण्टमा २४ ठुला सिलिण्डर राख्ने तयारी गरेको छ । अन्य अस्पतालहरु पनि अक्सिजन सिलिण्डर थपकै योजनामा छन् । चितवनमा रहेका अक्सिजन उत्पादन गर्ने कम्पनी र अस्पतालले क्षमता अनुसार अधिकतम अक्सिजन उत्पादन गरी पर्याप्त मौज्दातमा राख्न डिसीसीएमसीले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्