Logo

गोरखामा भूकम्पले भत्केका ६० हजार घर बने

गोरखामा भूकम्पले क्षति पु¥याएकामध्ये ९० प्रतिशतभन्दा बढी घरको पुनर्निर्माण सकिएको छ । जिल्लामा हालसम्म कायम भएका ७२ हजार ८ सय २३ लाभग्राहीमध्ये ६० हजार ३ सय १४ जनाले घर निर्माण पूरा गरी तेस्रो किस्ताको अनुदान रकम बुझेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले संकलन गरेको विवरणअनुसार जिल्लाका ११ मध्ये ७ स्थानीय तहमा निजी आवास पुनर्निर्माणको काम ९० प्रतिशतभन्दा माथि छ । इकाईका अनुसार वारपाक सुलिकोट गाउँपालिकामा पुनर्निर्माणको ९६ प्रतिशत काम पूरा भएको छ । सो पालिकामा ७ हजार २ सय ७४ लाभग्राही कायम भएकोमा ६ हजार ८ सय ३ जनाले तेस्रो किस्ताको अनुदान रकम बुझेका छन् ।
यस्तै अजिरकोट र सिरानचोक गाउँपालिकामा पनि निजी आवास पुनर्निर्माणको ९४ प्रतिशत काम पूरा भएको छ । अजिरकोटमा हालसम्म ४ हजार २ सय १५ जना लाभग्राही रहेकोमा ३ हजार ९ सय ९ जनाले तेस्रो किस्ताको अनुदान रकम बुझेका छन् । यस्तै सिरानचोकका ६ हजार ९ सय ५६ लाभग्राहीमध्ये ५ हजार ६ सय ५५ जनाले अन्तिम किस्तावापतको रकम बुझिसकेका अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईका प्रमुख रामशरण आचार्यले बताए । गोरखा नगरपालिका र आरुघाट गाउँपालिकामा ९२ प्रतिशत लाभग्राहीले निजी आवास पुनर्निर्माण सम्पन्न गरेका छन् । जिल्लाभरमा सबैभन्दा धेरै लाभग्राही रहेको गोरखा नगरपालिकाका १० हजार ६ सय ३७ जनामध्ये ८ हजार ६ सय ९५ जनाले तेस्रो किस्ताको रकम बुझेका छन् ।
आरुघाट गाउँपालिकाका ७ हजार ७७ लाभग्राहीमध्ये ६ हजार ३ सय ३८ जनाले निर्माण सम्पन्न गरी तेस्रो किस्ताको अनुदान रकम बुझेको इकाईले संकलन गरेको विवरणमा उल्लेख छ । सहिद लखन र धार्चे गाउँपालिकामा पनि निजी आवास पुनर्निर्माणको ९० प्रतिशत काम पूरा भएको छ । सहिद लखनमा हालसम्म कायम भएका ७ हजार २ सय ५६ लाभग्राहीमध्ये ५ हजार ६ सय ७७ जना र धार्चेका ४ हजार १ सय ९५ मध्ये ३ हजार ५ सय २५ जनाले तेस्रो किस्ताको रकम बुझेका छन् । अरु ५ स्थानीय तहमध्ये चुमनुब्रीमा निजी आवास पुनर्निर्माणको काम सुस्त देखिएको छ । त्यहाँ हालसम्म पुनर्निर्माणको ८० प्रतिशत काम पूरा भएको छ । चुमनुब्रीमा २ हजार ४ सय २५ लाभग्राहीमध्ये घर निर्माण पूरा गरेर अनुदान रकम बुझ्नेको संख्या १ हजार ९ सय २ रहेको
यस्तै भीमसेन थापा गाउँपालिकाका ७ हजार ३३ मध्ये ५ हजार ७ सय ३२ जनाले तेस्रो किस्ताको रकम बुझेका छन् । गण्डकी गाऊँपालिकामा पुनर्निर्माणको ८१ प्रतिशत काम पूरा भएको छ । सो पालिकामा फागुन मसान्तसम्म लाभग्राही कायम भएका ५ हजार ७ सय ७ जनामध्ये ४ हजार २ सय ३१ ले तेस्रो किस्ताको रकम बुझेका छन् । यस्तै पालुङटार नगरपालिकामा निजी आवास पुनर्निर्माणको काम ८९ प्रतिशत पूरा भएको छ । त्यहाँका १० हजार ४८ लाभग्राहीमध्ये ७ हजार ८ सय ४७ जनाले तेस्रो किस्ताको रकम बुझेका अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईले जनाएको छ । जिल्लाका करिब २० वटा वडामा भने निजी आवास पुनर्निर्माणको ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको इकाईले संकलन गरेको विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्