६ महिनामा ८ प्रतिशत बिमा दावी भुक्तानी

६ महिनामा ८ प्रतिशत बिमा दावी भुक्तानी ६ महिनामा ८ प्रतिशत बिमा दावी भुक्तानी मुना कुँवरकाठमाडौं, २६ पुस तराई क्षेत्रमा भएको बाढी तथा डुबानको ६ महिना बितिसक्दा पनि निर्जीवन बिमा कम्पीहरूले करिब ८ प्रतिशत रकममात्र भुक्तानी गरेका छन् । गत साउनमा तराई क्षेत्रमा गएको ढुबानका कारण निर्जीवन बिमा कम्पनीहरूमा २ अर्ब ७ करोड रुपैयाँ दावी परेको छ । जसमध्ये कम्पनीहरूले हालसम्म जम्मा १६ करोड ४ लाख रुपैयाँमात्र दावी भुक्तानी गरेका छन् ।
बाढीको प्रारम्भिक अध्ययनअनुसार कम्पनीहरूमा ९ सय ६९ वटा दावी परेको थियो । जसमध्ये कम्पनीहरूले हालसम्म १ सय ७३ वटा दावीको मात्रै भुक्तानी गरेका छन् । त्यस्तै कम्पनीहरूले ३५ वटा दावीबापत करिब १५ करोड ७९ लाख रुपैयाँ पेश्कीबापत भुक्तान गरेको बिमा समितिको तथ्यांकमा उल्लेख छ । कम्पनीहरूमा परेको दावी रकममध्ये करिब ३२ प्रतिशत हिस्सा पुनर्बिमाको रहेको छ । जसअनुसार ३४६ दावीबापत पुनर्बिमा कम्पनीले ६६ करोड ७८ लाख रुपैयाँ भुक्तान गर्नेछन् । यस्तै, दावी परेको १६ वटा निर्जीवन बिमा कम्पनीमध्ये सवैभन्दा बढी नेसनल इन्स्योरेन्स कम्पनीमा दावी परेको थियो ।
उक्त कम्पनीमा ७७ वटा दावीबराबर ३३ करोड १३ लाख रुपैयाँ दावी परेको थियो । त्यस्तै, शिखर इन्स्योरेन्समा ६९ वटा दावीबराबर ३० करोड रुपैयाँ दावी परेको थियो भने नेको इन्स्योरेन्समा ६६ वटा दावी बराबर २४ करोड रुपैयाँ दावी परेको थियो । तर, राष्ट्रिय बिमा कम्पनीमा जम्मा ६ वटा मात्रै दावी परेको थियो । सबै दावीको कम्पनीले भुक्तानी गरिसकेको छ । यस्तै, एभरेष्टमा १२, प्रभु इन्स्योरेन्समा १५ वटा दावी परेको थियो । समितिको तथ्यांकअनुसार हालसम्म शिखर इन्स्योरेन्सले सबैभन्दा बढी दावीको भुक्तानी गरेको छ । कम्पनीले ३१ वटा दावीको भुक्तानी गरेको छ ।
लुम्बिनीले २६ र नेशनलले २३ वटा दावीको भुक्तानी गरिसकेको छ भने २३ वटा दावीको पेश्की भुक्तान गरेको छ । त्यस्तै, प्रभु इन्स्योरेन्सले हालसम्म एउटा मात्रै दावीको भुक्तानी गरेको छ । नेपाल इन्स्योरेन्सले २ वटा र प्रिमियर, एभरेष्ट र एनबीले भने ३-३ वटा दावीको भुक्तानी गरेका छन् । कम्पनीमा परेको दावीको जतिसक्दो छिटो भुक्तानी गर्न समितिले कम्पनीहरूलाई आग्रह गरेको छ । ससानो परिमाणमा रहेको दावीको जतिसक्दो चाँडो भुक्तानी गरी पीडितलाई राहत प्रदान गर्न कम्पनीहरूलाई आग्रह गरिएको समितिका सहायक निर्देशक शेखरप्रसाद शर्माले बताए ।
“हामीले कम्पनीहरूलाई बारम्बार भनिरहेका छौं । जतिसक्दो चाँडो भुक्तानी गर्नुहोस्,” उनले भने । तर, कम्पनीहरूले भने बिमितहरूले आवश्यक कागजपत्र जुटाउन नसक्दा भुक्तानीमा ढिलाइ भएको बताउने गरेको उनले बताए । कतिपय बिमितले नक्कली कागजपत्र ल्याएर दावी गर्ने हुँदा कागजपत्र प्रमाणीकरणमा समय लाग्दा भुक्तानीमा ढिलो हुने गरेको कम्पनीहरू बताउँछन् । यस्तै, वास्तविक पिडितले भुक्तानीको प्रक्रिया छिटो गर्ने गरे पनि अवसरको फाइदा उठाउन चाहने पीडितले नियतवश नै ढिलो दावी गर्ने गरेको नेको इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काले बताए । “ढिलो दावी गर्ने अनि कागजपत्र माग्दा हरायो भनेर भुक्तानी प्रक्रियालाई जटिल बनाउने प्रवृत्ति बिमितहरूमा पनि देखिन्छ,” उनले भने । राष्ट्रिय योजना आयोगको तथ्यांकअनुसार तराई क्षेत्रमा आएको बाढीले ६१ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति र २२ जना घाइते भएको देखाएको छ । क्षति भएका संरचनाको पुनर्निर्माणका लागि ७३ अर्ब रुपैयाँ आवश्यक पर्ने आयोगले गरेको अध्ययनले देखाएको छ ।