कोरोनाको कारण अस्तव्यस्त बन्दै शैक्षिक स्तर
विश्वभरि नै कोभिड–१९ को प्रकोपले महामारीको रूप लिएको अवस्थामा झनै कोरोनाको दोस्रो लहरले संसारको अर्थतन्त्रदेखि लिएर मानिसहरूको जनजीवन नै अस्तव्यस्त बनाएको छ । अझै भन्नुपर्दा पहिलो चरणको कोरोना प्रकोपभन्दा पनि दोस्रो चरणको कोरोना भाइरसले संसारभर उग्र रूप लिन थालेको छ । दिन–प्रतिदिन कोरोनाले भयावह रूप लिँदै छ । दिन–प्रतिदिन कोरोना संक्रमितको दर बढ्दो रूपमा रहेको छ भने मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।
विश्वले कोरोनाको खोप बनाउनमा सफलता हासिल गरी मानिसहरूले यसको प्रयोग गरे पनि संक्रमण दिनहुँ बढ्दो क्रममा रहेको छ । खोप बनेका कारण मानिसहरू विश्वस्त र जनजीवन सामान्यजस्तै बनिसकेको थियो । देशको आर्थिक स्तर बिस्तारै उकासिँदै थियो, तर कोरोनाको दोस्रो लहरले फेरि राष्ट्रलाई एक वर्ष पहिलेकै अवस्थामा धकेल्छ भन्ने आशंका सबै नागरिकको मनमा पलाएको छ ।
ठूला–ठूला पाँचतारे होटलहरू अझै पनि खुल्न नसकेको अवस्थामा झनै अबको स्थितिमा त यस्ता कतिपय व्यवसायहरू बन्द हुनेछन् र यसले आमजनतामा कतिसम्म असर पु¥याउन सक्ला भनेर हामी अनुमान पनि लगाउन सक्दैनांै । यसले शैक्षिक स्तरसमेत डामाडोल पारेको छ । यतिबेला शैक्षिक संस्थाका संस्थापक तथा कर्मचारीहरू र विद्यार्थीका अभिभावकहरूलाई यो अन्योल छ कि विद्यालय खोलेर पठनपाठन सञ्चालन गरेदेखि विद्यार्थीको शैक्षिक अवस्थामा सुधार आए पनि कोरोना संक्रमण बढ्ने डर भएकाले न त निर्धक्क भएर विद्यालय पठाउन मन लाग्छ, न त बालबालिकाहरू घरमा बसेर नै अध्ययन गर्न रुचाउँछन् । त्यसमाथि अहिलेको कोरोनाले सानासाना बालबालिका, विद्यालय तथा क्याम्पस जाने विद्यार्थी र शैक्षिक संस्थामा संलग्न कर्मचारीहरूलाई बढी प्रभावित पारेका कारण सुरक्षाको हेतुले बिगत एक सातादेखि शैक्षिक संस्थाहरू फेरि बन्द गरिएको छ ।
यस प्रकोपका कारण अर्थतन्त्रका साथसाथै विद्यार्थीहरूको भविष्य पनि अन्धकारतर्फ धकेलिँदै छ । यस्तो अवस्थामा हामी अभिभावकहरूले पनि विद्यालयसँग समन्वय गरी सहकार्य गर्नुपर्ने हुन्छ । किनकि अहिलेको समयमा विद्यार्थीहरूलाई पनि लामो समयदेखि घरमा बसेर दिनभर मोबाइल तथा सामाजिक सञ्जाल चलाएर बस्ने बानी बसेका कारण पढाइमा सबैमा ढिलासुस्ती आएको छ । र, पहुँच हुनेले जुमजस्ता एपबाट पठनपाठनलाई निरन्तरता दिए पनि सबैको हकमा भने उक्त पहुँच नपुगेका कारण सबै विद्यार्थीहरूले पढाइलाई निरन्तरता दिन सकेका छैनन् । त्यसैले विद्यालयले पनि कोरोना महामारीका कारण अस्तव्यस्त बनेको शैक्षिक सत्र खेर जान नदिन विकल्प खोज्न तयारी गर्न जरुरी छ ।
कोरोना कहरकै बीच विद्यार्थीलाई सिक्ने तथा पढ्ने वातावरणको सिर्जना गर्नमा विद्यालयले पनि जोड दिनुपर्छ । किनकि महामारीका बेला सबैलाई एउटै विधिबाट समेट्न सम्भव हुँदैन । त्यसैले जसलाई जुन विधिबाट सम्भव हुन्छ, त्यही तरिकाबाट शिक्षण क्रियाकलापमा सहभागी गराउनुपर्छ । किनकि सबै विद्यार्थीको इन्टरनेटमा पहुँच छैन । अनलाइनमा पहुँच नहुने विद्यार्थीका लागि रेडियो, टेलिभिजन, पठन सामग्रीलगायत खुला र दूरशिक्षाका माध्यमबाट भए पनि पठनपाठन सञ्चालन गर्नुपर्ने हुन्छ । यसका साथै पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गरी पाठ्यक्रमलाई छोट्याउने, वैकल्पिक विधिबाट परीक्षा लिने र यसरी गरिएको पठनपाठनलाई शैक्षिक सत्रका रूपमा मान्यता दिने व्यवस्था पनि गर्नुपर्छ । कुनै न कुनै माध्यमबाट विद्यार्थीलाई पढाइलेखाइमा संलग्न गराउन सकिएमा महामारीका बेला क्षति कम हुनुका साथै शैक्षिक सत्र गुम्ने जोखिमलाई रोक्न पनि सकिनेछ ।
विपद्का बेला सबै कुरा पढाइरहन सम्भव हुँदैन, विद्यार्थीले पढ्नैपर्ने र उनीहरूलाई सिकाउनैपर्ने कुराहरूलाई सूचीकृत गरी जुन विधिबाट विद्यार्थीलाई पढाउन सकिन्छ त्यही विधि अपनाउनुपर्छ । तर, यसका लागि अभिभावक र विद्यार्थी दुवै चनाखो भएर शैक्षिक संस्थासँग सहकार्य गरी अघि बढ्नुपर्ने हुन्छ । — रन्जिता गिरी पोख्रेल