Logo

सार्वजनिक गतिविधिमा कडाइ, व्यवसायमा खुकुलो

बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय काठमाडांै, ललितपुर र भक्तपुरले नयाँ भेरियन्टको कोभिड–१९ को संक्रमण बढेको भन्दै आगामी बिहीबार बिहान ६ बजेदेखि लागु हुने गरी निशेषाज्ञा जारी गरेका छन् ।
तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सोमबार जारी गरेको विज्ञप्तिमा निषेशाज्ञा २२ वैशाखको राति १२ बजेसम्म अर्थात् एक सातासम्म जारी रहने उल्लेख छ । विवाह, ब्रतबन्धको हकमा प्रशासनको स्वीकृतिमा बढीमा १५ जनाको स्वास्थ्य प्रोटोकल पालना गर्नेबाहेक सम्पूर्ण सार्वजनिक सभा सम्मेलनदेखि सार्वजनिक गतिविधिमा कडाइ गरिएको छ भने उद्योग व्यवसाय सञ्चालन स्वीकृतिमा सञ्चालन गर्न पाउने गरी खुकुलो बनाइएको छ ।
जारी सूचनामा सार्वजनिक एवं निजी सवारी साधनमा काठमाडांै जिल्लाभर रोक लगाउँदै अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीका साथै खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाउने सूचनामा उल्लेख छ ।
सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय या विभागबाट जारी भएको सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइनेछ । विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना का कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएर मात्र सञ्चालन गर्न पाउने तथा अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हवाई टिकट, पासपोर्ट, भिषा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने पनि सूचनामा उल्लेख छ ।
खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धि पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय हाललाई बन्द गर्ने र खाद्य सामग्रीका पसल व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला गर्ने तथा डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजे देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्ने पनि सूचनामा उल्लेख छ । सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न दिने तथा काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने सूचनामा उल्लेख छ ।
यसैबिच सोमबार साँझ बसेको मन्त्रीपरिषद्को बेठकले कोरोना नियन्त्रणका लागि सीसीएमसीले गरेका विभिन्न सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ । आन्तरिक उडान भने तत्काल नरोक्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्