नेतृत्वले नै महिलालाई अधिकार सम्पन्न गराउनेः उपमेयर हरिप्रभा
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले महिलाहरू नै अग्रसर नभइकन अधिकारबाट सुसज्जित हुन नसकिने बताइन । अझै पनि राज्यसँग समानताको लागि द्वन्द नसकिएको उनको भनाइ थियो ।
मंगलादेवी स्मृति प्रतिष्ठानले आयोजना गरेको कोभिड–१९ सचेतना लक्षित एकहप्ते नेतृत्व विकास तालिमको समापन समारोहका प्रमुख अतिथि उपमेयर श्रेष्ठले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै मन्तव्यमा नेतृत्व विकास तालिमको एक साताको अवधिमा सहभागीमा देखिएको परिवर्तनले आफू निकै उत्साहित भएको बताइन् । उपमेयर श्रेष्ठले मन्तब्यकै क्रममा शुभकामना गीत गाउँदा सहभागीहरू निकै उत्साहित भएका थिए ।
मंगलादेवी सिंहप्रति शब्द–सम्मान ब्यक्त गर्दै सुरु गरिएको कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष गंगालक्ष्मी अवालको सभापतित्वमा भएको हो । अध्यक्ष अवालले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा योगदान गर्ने सबैलाई धन्यवाद दिए । कार्यक्रमका विशेष अतिथि काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग प्रमुख दीपक अधिकारीले महिलाहरूको क्षमता अभिवृद्धिमा महानगरपालिकाले गम्भीरता पूर्वक विभिन्न योजना तथा कार्यक्रम निर्माण गरिरहेको बताए । नेतृत्व विकास तालिमको सिकाइ उपलब्धिले खुसी लागेको उनको भनाइ थियो ।
कार्यक्रम प्रशिक्षक सुरजवीर बज्राचार्यले प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता एवं रातदिन नभनी गरेको मेहेनतले आफूमा उत्साह थपेको बताए छ । कक्षाका प्रत्येक अभ्यासमा जिउज्यानले मेहेनत गर्ने यो अनुभव परम्पराकै रुपमा विकास होस् भन्नुहुँदै मौका आउँदा उपयोग गर्न आग्रह गरे साथै आवश्यकता पर्दा सधंै साथमा उभिने प्रतिवद्धता व्यक्त गरे ।
तालिम कार्यक्रमका संयोजक आनन्दरत्न बज्राचार्यले महिलाहरू नेतृत्वमा रहेको हेर्ने समाजको चाहना रहेपनि अग्रसर नहुने महिलाहरूमा उत्साह जागोस् भन्ने उद्देश्यले तालिम आयोजना भएको बताए । अर्कोतर्फ अग्रसर हुने अठोट र क्षमता भइकन पनि अवसर र प्रोत्साहनको कमीले महिलाहरू नेतृत्वमा पुग्ने यात्रा कमजोर हुने गरेको उनले बताए ।
समापन कार्यक्रममा प्रशिक्षक सुरजवीर बज्राचार्य, तालिम संयोजक आनन्दरत्न बज्राचार्य तथा काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग प्रमुख दीपक अधिकारीलाई कदरपत्र प्रदान गरिएको थियो भने प्रशिक्षार्थीहरू सबैको हस्ताक्षर रहेको ‘धन्यवाद पत्र’ प्रमुख अतिथि हरिप्रभा खड्गी श्रेष्ठ तथा आयोजक मंगलादेवी प्रतिष्ठानकी अध्यक्ष गंगालक्ष्मी अवाललाई प्रदान गरिएको थियो ।
प्रशिक्षार्थी प्रविणा श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य प्रशिक्षार्थी एवं लोकप्रिय गायिका सरीता शाहीले राखेकी थिइन् । काठमाडौं महानगरपालिकाको सहयोगमा जन चिकित्सालय न्ह्योखाको हलमा भएको तालिममा २९ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रशिक्षार्थी एवं कलाकारहरू अगिना तण्डुकार, सविना मानन्धर, सरीता शाहीले गीतसमेत प्रस्तुत गरेका थिए ।