नगर प्रमुख प्रजापति र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव सिलवालबीच भेट
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालबीच भक्तपुरको खेलकुद क्षेत्र विकास र खेलमैदानहरूको स्तरोन्नति गर्ने विषयमा आइतबार परिषद्को कार्यालय काठमाडौंमा छलफल भयो ।
आइतबार उनहरूबीच भएको भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुरमा खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको सम्मानका लागि नियमित रुपमा विभिन्न खेलका प्रशिक्षण सञ्चालन गर्नुका साथै विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडी र प्रशिक्षकहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले खेलाडीहरूको सम्मान कार्यक्रमलाई जोड दिँदै आइरहेको बताए । भक्तपुर नपाले नगरको विभिन्न वडामा व्यायाम स्थल स्थापना गर्नुका साथै नपाद्वारा सञ्चालित कलेजहरूको शैक्षिक विशेषताबारे उनले प्रष्ट पारे । खेलकुदको पूर्वाधार विकासको लागि प्राविधिक समस्या भइरहेको हुँदा त्यसलाई खेलकुद परिषद्ले फुकाई दिनुपर्नेमा उहाँले जोड दिए ।
भक्तपुरका खेल मैदानहरू स्तरीय भए यहाँका खेलाडीहरू लाभान्वित हुने र देशको लागि आवश्यक दक्ष खेलाडीहरू उत्पादनमा पनि टेवा पुग्ने बताउँदै उनले नगरपालिकाले किशोरीहरूलाई लक्षित गर्दै आत्मरक्षा तालिम र सबै वडाहरूमा छिपोङ शारीरिक खेल अभ्यासको पनि प्रशिक्षण दिँदै आएको बताए ।
सदस्य सचिव सिलवालले खेल क्षेत्रको विकासमा भक्तपुर नपाको प्रयास र पहल निकै सराहनीय र सकारात्मक रहेको बताउँदै सबै जिल्लामा खेलकुदका पूर्वाधार निर्माणमा परिषद्ले आवश्यक पहल गरिरहेको बताए ।
भक्तपुरमा खेलकुदको सम्भाव्यताबारे आफ्नो धारणा राख्नुहुँदै उहाँले खेलमैदान र खेलकुद प्रशिक्षण केन्द्र (कभर्ड हल), स्टेडियम निर्माण आदि गतिविधिले खेलाडीहरूलाई दिगो रुपमा प्रोत्साहन मिल्ने बताए ।
उक्त भेटमा भक्तपुर नपा खेलकुद समिति संयोजक श्यामकृष्ण खत्री, सदस्यद्वय उकेश कवां र हरिप्रसाद बासुकला र जिल्ला फुटबल संघ, भक्तपुरका अध्यक्ष गौतम सुजखुको पनि उपस्थिति थियो ।