एनसेलले लैनचौरमा खेल मैदान सहितको हरित उद्यान निर्माण गर्दै
एनसेल आजियाटाले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत काठमाडौंको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्दैछ । आयोजना अन्तर्गत निर्माण हुने खेल मैदान सहितको हरित उद्यानले स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पु-याउने उद्देश्य लिएको छ । यो हरित उद्यान काठमाडौं महानगरपालिका वडा नं. २६ मा रहेको लैनचौर मैदानमा बनिरहेको छ ।
उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र बालबालिकाका लागि खेल्ने स्थान लगायतका विषेशताहरु रहने छन् । यो उद्यान ५४,९२१ वर्ग फिट क्षेत्रफल रहेको हालको लैनचौर मैदानमा बन्ने छ । एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ ले एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत यो हरित उद्यान निर्माण तथा संरक्षणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । समझदारी अनुसार, एनसेलले काठमाडौं महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइन अनुसार लैनचौर हरित उद्यान निर्माणको कार्य गरिरेहकोे छ ।
ग्राउण्ड क्लेरेन्सको कार्य सम्पन्न गरी हाल उद्यान निर्माणका लागि मैदान उत्खननको कार्य भइरहेको छ । परम्परागत ढुङ्गेधारा, उद्यानमा आउने मानिसहरुका लागि पार्किङ्, शौचालय सुविधा र सोलार बत्तिको व्यवस्था यस उद्यानका केही थप विषेशताहरु हुन् ।
एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले दीगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गतका शिक्षा र स्वास्थ्यका साथसाथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) लाई प्राथमिकतामा राख्दै सामाजिक कार्यहरु गर्दै आएकोे छ । औद्योगिक व्यवसाय नियमावली २०७६ ले पनि व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वातावरण संरक्षणलाई एक प्रमुख क्षेत्रको रुपमा राखेको छ । एनसेलले विभिन्न सामाजिक पहल अन्तर्गत आफ्नो स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जिविकोपार्जनमा सहयोग लगायतका विभिन्न क्षेत्रमा १.२७ अर्ब रुपैयाँ भन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासको लागि सहयोग पुर्याएको छ । स्वास्थ्य, शिक्षा र वातावरण क्षेत्र एनसेलको प्राथमिकतामा रहेको छ ।