‘गरिखाने अभियान’को लुम्बिनी प्रदेशसँग अन्तरक्रिया
नेपाली कांग्रेस; लगानी, पूर्वाधार तथा रोजगारः दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिले लुम्बिनी प्रदेशसँग भर्चुअल अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसको पार्टी संयन्त्रभित्र केन्द्रित रहेको उक्त भर्चुअल अन्तक्र्रियामा समितिले अघि बढाएको गरिखाने अभियान, यसका उपलब्धि तथा राष्ट्रव्यापी उद्यमशीलता विकास अभियानको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले गरिखाने वर्गको निर्माणले मात्र मुलुकको आर्थिक रूपान्तरण सम्भव भएको भन्दै राजनीतिक उपलब्धिहरू उपभोग गर्न पनि आम जनतालाई आर्थिक रूपले सबल बनाउनुपर्ने बताए । खाँणले राजनीतिमा पनि गरिखाने वर्गलाई स्थापित गर्दै लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, हरिप्रसाद नेपाल लगायतले अर्थतन्त्र, उद्यमशीलता, रोजगारी र पूर्वाधार विकासलाई नेपाली कांग्रेसले प्रमुख एजेण्डा बनाउनुपर्ने धारणा राखेका थिए । जनताका व्यावहारिक समस्यालाई सम्बोधन गर्नुनै जनमुखी राजनीतिको ध्येय भएको भन्दै नेपाली कांग्रेसले संघीय सांसद एवं उद्योगपति विनोद चौधरीको संयोजकत्वमा ‘लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति’ गठन गरेको हो । उक्त समितिले गरिखाने अभियानमार्फत् हेटौंडा, झापा, वीरगञ्ज, धनकुटा, संखुवासभा, पोखरा, चितवन लगायत विभिन्न स्थानमा सम्भावित उद्यमीहरू पहिचान गरी उनीहरूलाई उद्यमशीलता विकासका लागि सघाइरहेको छ । सीप, पुँजी, प्रविधि तथा बजारसँगको पहुँच स्थापित गरी आकांक्षी युवाहरू र विदेशबाट फर्केकाहरूलाई समेत स्वदेशमै गरिखाने बनाउन यस अभियानको साझेदार संस्था ‘कर्मभूमि समाज’ले काम गर्दै आइरहेको छ ।
कार्यक्रममा समितिका सल्लाहकार डा. प्रभु बुढाथोकीले गरिखाने अभियानको महत्व र यसले सिर्जना गर्ने रूपान्तरणका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । त्यस्तै, कर्मभूमि समाजका सीईओ योगराज शर्मा कँडेलले गरिखाने अभियान र कर्मभूमि समाजबाट हालसम्म भएका उपलब्धिबारे जानकारीमूलक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा समितिका सहसंयोजकहरू दीपक खड्का, इन्द्र बानियाँ, उमेश श्रेष्ठ र अनिल रूंगटाले गरिखाने अभियानको प्रारूप तयार गर्दादेखि यसको सुुरुवातमा देशका विभिन्न भागमा उद्यमीहरूको बीचमा ‘रोड शो’ आयोजना लगायतका अनुभव सुनाउँदै आगामी दिनमा यसलाई पार्टीले आत्मसात् गरी अभियानको रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रमको सुरुवातमा लुम्बिनी प्रदेशको संयोजक विमलप्रसाद ढकालले स्वागत मन्तव्य राखेका थिए थियो । पार्टीका वरिष्ठ नेतागण, केन्द्रीय सदस्यहरू, क्षेत्रीय र जिल्ला सभापतिहरूको उपस्थिति रहेको उक्त भर्चुअल कार्यक्रमको सभापतित्व गर्दै समितिका संयोजक विनोद चौधरीले देशलाई रूपान्तरण गर्ने सोच र अभियानको नेतृत्व विगतदेखि नै नेपाली कांग्रेसले गर्दै आएको स्मरण गरे । २००७ सालमा राजनीतिक क्रान्तिको बिगुल फुकेर जनतालाई राजनीतिक अधिकार र प्रजातन्त्रका बारेमा जागरण ल्याउनेदेखि २०४६ पछि आर्थिक विकासका पक्षमा गरिएको संरचनात्मक रूपान्तरणले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ३५ प्रतिशत योगदान गर्ने नयाँ क्षेत्रहरू उदय भएको बताए । गरिखाने अभियानले ३० वर्ष अघि नेपाली कांग्रेसको अगुवाइमा भएको जत्तिकै ठूलो अर्को रूपान्तरण ल्याउने भन्दै यसलाई राष्ट्रव्यापी अभियानका रूपमा निरन्तर अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
कोभिड–१९ को दोस्रो लहर देखापरेसँगै समितिले आफ्ना स्थलगत कार्यक्रमहरू रोकेर भर्चुअल माध्यमबाट अन्तक्र्रिया गरेको हो । अवस्था सामान्य भएसँगै स्थलगत रूपमा नै कार्यक्रमहरू सुचारु हुनेछन् ।