जगदम्बा स्टिल्सद्वारा मृत सागरको आकृति बनाई विश्व कीर्तिमानको प्रयास
![](https://www.karobardaily.com/wp-content/uploads/2018/12/1544420698.jpg)
स्टेम फाउन्डेसन नेपाल र वातावरण विभागको सहकारिता तथा जगदम्बा स्टिल्सको सहयोगमा आयोजित कार्यक्रममार्फत प्रयोग भइसकेका प्लास्टिकका झोलाबाट मृत सागरको आकृति बनाई विश्व कीर्तिमान राख्ने प्रयास सफल भएको छ ।
कार्यक्रमका लागि सहआयोजक जगदम्बा स्ट्ल्सिले आकृति निर्माणको जिम्मेवारी निर्वाह गरेको थियो, साथै वन्यजन्तु कोषले प्राविधिक सहयोग प्रदान गरेको थियो । सो कार्यक्रममा विभिन्न संघ–संस्था तथा विद्यालयका प्रतिनिधिहरूको उपस्थितिमा ८७ हजार २३२ थान प्लास्टिकको झोला आकृतिमा बाँधिएको हो । वातावरणमा प्लास्टिकले पारेको असरलाई साङ्केतिक रूपमा सिंगापुरले ६८ हजार प्लास्टिकले अक्टोपसको आकृति निर्माण गरिएको रेकर्ड प्राप्त भएको जनाएको छ । कार्यक्रममा बोल्दै सहरी विकास मन्त्री मोहम्मद इस्तिहाक राईले यस कार्यक्रमको सफलतासँगै प्लास्टिकले वातावरणमा परेको असर न्यूनीकरणमा नेपाल सरकार जिम्मेवार रहेको बताए ।
उनले युवा पुस्ताको यस अभियानलाई समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । हजाराँं नागरिकको उपस्थितिमा सो कार्यक्रम सम्पन्न हुनाले वातावरणप्रतिको संवेदनशीलता बढ्दै गएको छ । कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्रविधि प्रमुख डा. रवीन्द्र ढकालले प्लास्टिकबाट डिजेल बनाउने प्रविधि ल्याएसँगै प्लास्टिकमा न्यूनीकरण भएको र प्लास्टिकको पुनः प्रयोगमा सबैलाई जोड दिन आग्रह गरे । आयोजकका तर्फबाट बोल्दै स्टेम फाउन्डेसनका अध्यक्ष सर्जन बीसीले पर्यावरण र प्रकृतिमा प्लास्टिकको अनावश्यक र अव्यवस्थित प्रयोगले पारेको नकारात्मक असरबारे विश्वको ध्यानाकर्षण गर्दै नेपालीहरूमा सचेतना ल्याउन कार्यक्रम आयोजना गरिएको बताए ।