अपराधि गिरोह सक्रिय पेस्तोल र लागू औषधसहित कारोबारी र प्रहरी नै पक्राउ «

अपराधि गिरोह सक्रिय पेस्तोल र लागू औषधसहित कारोबारी र प्रहरी नै पक्राउ



वैशाख ८ गते बुधबार मकवानपुरको मनहरी गाउँपालिका–५ बस्ने २५ वर्षीय राजु राना मगर स्वचालित पेस्तोल र त्यसमा प्रयोग हुने दुई थान म्याग्जिन सहित शंकराचार्य गेट नजिकैबाट पक्राउ परे । भारतको सीमावर्ती रक्सौल बजारबाट वीरगन्जतर्फ आउँदै गरेका उनलाई शंका लागेर प्रहरीले चेकजाँच गर्ने क्रममा मगरलाई हतियारसहित पक्राउ गरेको हो ।
उनी रक्सोलबाट दोस्रो पटक पेस्तोल लिएर फर्किंदै गर्दा पक्राउ परेका हुन् । उनी पक्राउ परेपछि घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले आपराधिक गतिविधिमा संलग्न गिरोहलाई नै पक्राउ गर्न सफल भयो । प्रहरीका अनुसार राजु राना मगर पक्राउ परेको करिब २० दिन अगाडि अर्का लागूऔषध कारोबारी काठमाडौं बस्ने राम प्रजापतिसँग मिलेर पेस्तोल खरिद गर्ने सल्लाह गरेका रहेछन् । त्यसबेला रक्सौल गएर मुमताज भन्ने व्यक्तिलाई दुईवटा पेस्तोलको १ लाख ५० हजार रुपैयाँमा मोलमोलाई गरी एक लाख रुपैयाँ पेश्कीसमेत दिइसकेका थिए ।
त्यसपछि मगर र प्रजापति वैशाख ८ गते नै वीरगन्जको बसपार्कमा पुगेर लागूऔषध कारोबारमा पहिलेका सहयोगी लालबाबु सिंहलाई लिएर रक्सौल गए । त्यहाँ उनीहरुले एक सय सेट इन्जेक्सन, १२ सय पिस नेट्राभेट ट्याब्लेट र एक्सट्रा म्याग्जिन सहितको ‘सनमाइका’ लेखेको स्वाचालित पेस्तोल लिई कुँवर सिंहको अटो रिक्सामा बसेर वीरगन्ज बसर्पाकमा रहेको मनकामना गेस्ट हाउसको कोठा नम्बर १०५ मा बसेका थिए । कुवँर सिंह पनि पहिलेदेखि नै आपराधिक घटनामा संलग्न रहेको पाइएको प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । उनका अनुसार होटलमा बसेका मगर र प्रजापतिको हतियार लुटपाट गर्ने लालबाबु सिंहले योजना बनाए ।
सोहीअनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान अवधेशप्रसाद यादवसहित रोशन सिंह र नन्दन सिंहलाई बोलाएर त्यही दिन दिउँसो ४ बजेको समयमा दुवै जना कोठा नम्बर १०५ मा प्रवेश गरी लागूऔषध, पेस्तोल, म्याग्जिन, मोबाइल सेट र राम प्रजापतिको दुवै कानमा रहेको सुनको मुन्द्रा र ७ हजार रुपैयाँ नगद लुटेका थिए । लालबाबु सिंह, अवधेश यादव, नन्दन सिंह र रोशनसिंह भित्र हतियार र लागू औषध लुट्न पसेपछि श्यामबाबु कुशवाहा र अरविन्द गुप्ता निगरानी गर्न गेस्ट हाउस बाहिर बसेको प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । एउटा पेस्तोल लुटिएपछि मगर दोस्रो पेस्तोल लिन त्यही दिन रक्सौल पुगेका थिए । दोस्रो पेस्तोल र म्याग्जिन लिएर पैदलै वीरगन्ज प्रवेश गर्ने क्रममा नाकामा खटिएका प्रहरीले शंका लागेर चेक गर्दा मगरको साथबाट पेस्तोल र म्याग्जिन बरामद गरेको थियो ।
प्रहरीका अनुसार मगर पक्राउ परेपछि थालिएको अनुसन्धानले हातहतियार र लागूऔषध लुटपाट भएको खुलासा भएको हो । लुटिएको हातहतियार रोशन सिंहले वीरगन्ज महानगरपालिका– १५ स्थित आफ्नो घरदेखि पूर्वपट्टि करिब सय मिटरको दूरिमा रहेको सूर्योदयनगर चोकको दक्षिणपट्टि रहेको झाडीमा लुकाएको अवस्थामा फेला परेको एसपी पाण्डेले बताए । पेस्तोलमा लाग्ने एक्सट्रा म्याग्जिन प्रहरी जवान अवधेश यादवको वीरगन्ज महानगरपालिका– १३ स्थित डेराकोठाभित्रको खाटको बिछ्यौना मुनिबाट बरामद भएको थियो ।
लुटिएका लागूऔषध प्रहरी जवान यादवले वीरगन्ज महानगरपालिका– १३ स्थित सिर्सिया खोलाको छेउमा रहेको नर्कटको झाडीमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । सुनका मुन्द्राहरु लालबाबु सिंहको दाहिने जुत्ताको तलुवाभित्रबाट बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्