निगालो प्रशोधन उद्योग सञ्चालन : डोको बुन्ने पुख्र्यौली सीपबाटै उद्यमी
जुम्लाको हिमा गाउँपालिकामा जिल्लामै पहिलो जंगलमा पाइने निगालो प्रशोधन उद्योग सञ्चालन गरिएको छ । पुख्र्यौली पेशालाई आर्थिक आम्दानी तथा व्यवसायसँग जोड्न हिमा गाउँपालिका ७ जना स्थानीयको संयुक्त लगानीमा निगालो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको हो । जसबाट विगतको भन्दा मनग्य कमाई भइरहेको स्थानी बताउँछन् ।
विगतमा निगालोबाट बनेका डोको,टपरी, ढाला, मुडा, सुपो पिजडालगायतका सामग्री अन्नपातसँग साटिन्थ्यो । तर, समयको विकाससँगै पुख्र्यौली सीपलाई आर्थिकसँग जोड्न उद्योग संचालन गरेको जुगेनी निगालो प्रशोधन उद्योगका सञ्चालक नन्दबहादुर अधिकारीले बताए ।
उनले भने, “उद्योगमा निगालोबाट डोको, डाला, मुडा, मुगाला, सिन्के टोकरी, सोली, सुपा, भकारी, दराज, पिँजडा, छ्यान्नो स्याकुलगायतका १४ प्रकारका सामग्री निर्माण भइरहेका छन् । पेश नेपालले प्राविधिक सहयोग सहित तालिम दिएपछि उद्योग सञ्चालन गरेका हौ ।”
सीपलाई चामल पिठासँग साट्ने विगतको परम्पराभन्दा आर्थिक आम्दानीसँग जोड्न महत्वपूर्ण भएकाले जंगलमा पाइने निगालोलाई प्रशोधन गरी उपभोक्ताको मागअनुसार बनाएर बेच्दा अहिले मनग्य कमाई भइरहेको उनको भनाइ छ ।
जिल्लामै पहिलोे सञ्चालित निगालो उद्योगलाई हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले उद्घाटन गरेका छन् । उद्घाटनमा उनले सीपलाई आर्थिक संग जोड्न प्रविधि र लगानीको अभाव नरहेको बताए । निगालो उद्योगको निरन्तरता र विकासमा पालिकाले आवश्यक सहयोग गर्ने उनको भनाइ छ ।
यता पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानले निगालो उद्योग सञ्चालनमा आफुहरुले प्राविधिक सहयोग, औजार तथा तालिम दिएको बताए । उनले भने,“वैज्ञानिक वन व्यवस्थापनलाई ध्यानमा राख्दै निगालो संकलन गर्ने, आधुनिक मोडेलका सामाग्री बनाउन सिकाएका छौ । सिपको सम्मान,रोजगारी र आर्थिक आम्दानी हुने अपेक्षा पनि गरिएको छ ।”
खेती पाती मलजल गर्न तथा विभिन्न काममा प्रयोग हुने डोको, डालो, सुपा लगायतका निगालोका सामग्री बनाएर बेच्ने र परिवारको गुजरा चलाउने नागरिक जुम्लामा धेरै छन् । तर उक्त सिपको औधोगिकरण भने स्थानीय सरकार आएको करिब साढे तीवर्षमा हुदै छ । हिमा गाउँपालिका ६ का गंग अधिकारीले भने, “डोको बनेरै म परिवार चलाउँछु । एक वर्ष अघिसम्म गाउँघरमा मेरा छोराछोरीलाई डोको बुन्नेका सन्तान भनेर गिज्याउने गर्थे । तर अहिले निगालो उद्योगनै सञ्चालन हुँदा म खुसी छु । मेरो पेशा पनि सम्मानीत भएको महसुस भएको छ ।”