शाश्वतधाममा २० लाख दर्शनार्थी «

शाश्वतधाममा २० लाख दर्शनार्थी

काठमाडौं-नवलपरासीको दुम्कौलीमा रहेको शाश्वतधाममा २० लाख भक्तजनले दर्शन एवं अवलोकन गरेका छन् । सञ्चालनमा आएको २० महिनाको अवधिमा २० लाख भक्तजन एवं धार्मिक पर्यटक शाश्वतधाम पुगेका हुन् ।
सरकारले वेस्ट टुरिस्ट डेस्टिनेसनका रूपमा शाश्वतधामलाई अवार्ड दिइसकेको छ । नेपालमा पछिल्लो समयमा शाश्वतधाम सर्वाधिक लोकप्रिय गन्तव्य बनेको छ । शाश्वतधाममा स्वदेशी एवं विदेशी पर्यटकहरूको ओइरो नै लागेको छ । शुक्रबार बिहान ११ बजे हेटौंडा नगरपालिका–४ पारिजात पथकी ७६ वर्षीया वृद्धा लोकलक्ष्मी आचार्य २० औं लाख दर्शनार्थीका रूपमा शाश्वतधाम प्रवेश गरेकी थिइन् । उनलाई शाश्वतधामको विशेष दर्शन एवं परिक्रमाका साथ व्यवस्थापनले विशेष सम्मान गरेको छ । उनीलगायतका शुक्रबार शाश्वतधाम पुग्ने दर्शनार्थीलाई पञ्चेबाजा, स्वस्तिवाचन, भजनकिर्तनले स्वागत गरिएको छ ।
“यो मेरो जीवनकै बिर्सिन नसक्ने क्षण बनेको छ,” आचार्यले भनिन्, “शाश्वतधामको महत्व सुनेकी थिएँ । आज यस भगवानको मन्दिरमामलाई प्राप्त भएको सम्मान मेरो हृदयमा सदा सदाका लागि रहनेछ ।”
पूर्व–पश्चिम राजमार्गस्थित सीजीआईपीसँगै रहेको यस धामको निर्माण ख्यातिप्राप्त उद्योगपति एवं नेपालकै एकमात्र डलर अर्बपति विनोद चौधरीले झन्डै डेढ दशक लगाएर गरेका थिए । नेपालीकला, संस्कृति एवं सनातनधर्मको प्रवद्र्धन गर्न शाश्वतधाम निर्माण गरिएको हो । शाश्वतधाममार्फत आन्तरिक एवं वाह्य पर्यटकलाई आकर्षित गरी नेपालको पर्यटन उद्योगमा योगदान पु¥याउनु अर्को महत्वपूर्ण लक्ष छ ।
“हामी शाश्वतधाममा धेरैभन्दा धेरै दर्शनार्थी एवं पर्यटकलाई स्वागत गर्न चाहान्छौँ,” चौधरी ग्रुपका अध्यक्ष एवं शाश्वतधामका फाउन्डर ट्रस्टी विनोद चौधरीले भने, “सनातन धर्मप्रति आस्थावान सम्पूर्ण नेपालीहरूको भावनालाई सम्मान गर्दै हामी शाश्वतधाममा थप सम्पदाहरू विस्तार गर्न प्रतिवद्ध छौं ।” अध्यक्ष चौधरीले स्वदेशी एवं विदेशी पर्यटकहरूका लागि शाश्वतधाम नेपालकै सर्वाधिक आकर्षक गन्तव्य स्थलमध्येको एक बन्ने विश्वास पनि व्यक्त गरे ।
केही दिनअघि मात्रै शाश्वतधाममा बुद्ध चैत्य र बुद्धिस्ट सेन्टरसमेत स्थापना गरिएको छ । यहाँ बुद्ध धर्मको इतिहास झल्काउने संग्रहालय छ । यसअघि नै यहाँ हिन्दू धर्मका बारेमा विस्तृत जानकारी दिने धार्मिक संग्रहालय स्थापना गरिएको थियो । शाश्वतधाम सनातन धर्मको रिसर्च सेन्टरका रूपमा समेत विकास भएको छ ।
उहाँका पिता लुंकरणदास चौधरीले वि.सं. २०५९ फागुन महिनामा शिलान्यास गरेको शाश्वतधाम निर्माणको अभिभारा विनोद चौधरीले वि.सं.२०७३ फागुन महिनामा पूरा गरेका थिए । विभिन्न धर्मका धर्मगुरुहरू, विभिन्न क्षेत्रका व्यक्तित्व र सर्वसाधारण माझ आर्ट अफलिभिङका संस्थापक श्री श्री रविशंकरले २०७३ साल फागुन २४ गते एकम्बरेश्वर शिवमन्दिरको प्राणप्रतिष्ठा गरेका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोही दिन शाश्वतधामको विधिवत् उद्घाटन गरेसँगै सर्वसाधारणका लागि खुला गरिएको थियो ।
पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको यस धामभित्र रहेको मनमोहक र वैभवयुक्त एकम्बरेश्वर शिवमन्दिर यहाँको प्रमुख आकर्षण हो । चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातिको समयमा यो मन्दिर पानीमा अडिएको भान हुन्छ । एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतीदेवीलगायतका थुप्रै हिन्दु देवी देवताका प्रतिमाहरू एकम्बरेश्वर मन्दिरसँगै छन् । मन्दिर अगाडि शिव प्रतिभक्तिभावको मुद्रासहितको लुंकरणदास चौधरीको शालिकसमेत निर्माण गरिएको छ । धामभित्र रहेका अखण्ड अग्निकुण्ड, यज्ञकुण्ड, शक्तिघाट, गौशाला, धर्मशाला, डिजिटल धार्मिक संग्रहालय आदिको अवलोकनबाट यहाँ पुग्ने जो कोही रोमाञ्चक अनुभूति गर्न सक्छन् ।
यहाँ रहेका अर्गानिकफार्म, अर्गानिक भोजनालय, आवासीय सुविधासहितको योग तथा ध्यान केन्द्र आदिको भरपुर उपयोग गर्न पाइने हुनाले यस मनमोहक स्थानमा पुग्ने जो कोहीले थकान र तनावबाट मुक्तिपाई आत्मिक शान्तिको महसुस गर्न पाउँछन् । आधुनिक भौतिक वादीयुगमा लोप हुँदै गएको सनातन धर्मको महत्व जोगाउन र मन्दिरमा दैनिक पूजाआजा तथा वैदिक कर्मकाण्ड अभ्यास गर्न शंकराचार्य कै सुझावबमोजिम यहाँ स्थापना गरिएको गुरुकुल अहिले वैदिककर्मकाण्ड अध्ययनको थलो बनेको छ ।
यसका साथै काञ्चीकामाकोटी पीठ, कामक्षदेवी मन्दिर, पशुपतिनाथ मन्दिर, आर्ट अफलिभिङलगायतका धार्मिक संघ–संस्थासँग समन्वय गरी नेपालमा सनातनधर्म संस्कृतिको जगेर्ना, संरक्षण र जागरणका लागि शाश्वतधामले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्