दूरसञ्चार सेवाको बजारीकरण गर्न नयाँ कम्पनी

दूरसञ्चार सेवाको बजारीकरण गर्न सेवा प्रदायक र उपभोक्ताबीच ‘पुल’को भूमिकामा रहनेगरी नयाँ कम्पनी खुल्नसक्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल भर्चुअल नेटवर्क अपरेटर (एमभीएनओ) को लाइसेन्स खुला गर्ने तयारी गरेको छ । मोबाइल सेवा पुग्न नसकेको ठाउँमा सेवा पुरायाउन, पछिल्ला प्रविधिहरूलाई ग्राहकसामु पु¥याउन, हाल पाइरहेका सुविधामा विविधीकरण गर्न तथा ग्राहकलाई गुणस्तरीय सेवा दिने उद्देश्यले एमभीएनओको लाइसेन्स खुला गर्न लागिएको प्राधिकरणले जनाएको छ । एनभीएनओले मोबाइल अपरेटरको नेटवर्क तथा पूर्वाधार प्रयोग गरेरै दूरसञ्चारसम्बन्धी सेवामा विविधीकरण गर्न नयाँखाले कम्पनीको अवधारणा हो ।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले भर्चुअल मार्केटिङलाई लक्षित गरेर यो लाइसेन्स वितरण हुने बताए । “सेवा प्रदायकबाट व्यवसाय लिनेगरी हामी एमभीएनओको लागि लाइसेन्स वितरण गर्दैछौं,” अध्यक्ष झाले भने, “यदि सेवाप्रदायक कम्पनीहरूले बिजनेस नै दिएनन् भने त्यसमा हाम्रो कुनै भूमिका हुने छैन, प्रचलित नीति निर्देशनमा रहेर उहाँहरू दुई पक्षले काम गर्नेमात्र हो ।” मोबाइल सेवा प्रदायकले प्राधिकरणबाट स्पेट्रम खरिद गरेका हुन्छन् । नेपाल टेलिकम, एनसेल, युनाइटेड टेलिकम लिटिटेड (यूटीएल), स्मार्ट टेलिकम, हेलो नेपाल र सिजी टेलिकमको बजारीकरणलाई लक्षित गरी एमभीएनओको लाइसेन्स जारी हुने जनाइएको छ ।
प्राधिकरणले एमभीएनओको लाइसेन्स जारी गर्ने सम्बन्धमा निर्देशिकाको मस्यौदा तयार गरेको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले एमभीएनओको लाइसेन्स जारी गर्दा सवैभन्दा धेरै फाइदा उपभोक्तालाई हुने बताउँछन् । निश्चित शर्त र मापदण्डका आधारमा सेवाप्रदायक कम्पनीबाट व्यवसाय लिन्छन् । अहिले सेवा प्रदायक कम्पनीहरूले ग्राहकको इच्छाअनुसारको सवैखाले सेवा दिन सकेको अवस्था छैन । एमभीएनओको मुख्य भूमिका भनेको सेवा प्रदायकबाट निश्चित क्षेत्रमा सेवा विस्तार गर्ने सम्झौता गरी लक्षित क्षेत्रमा अधिकतम नयाँ र प्याकेजमा सेवा विस्तार गर्नु हो । नेपालमा एमभीएनओको सेवा खुला गर्नुपर्ने आवश्यकता धेरै पहिलेदेखि नै महशुस भएको थियो । सेवा खुला गर्न आवश्यक शर्त, सेवाप्रदायक र उपभोक्ताको भूमिका, एमभीएनओको कर्तव्य तथा दुईपक्षबीच हुने सम्झौताको मापदण्डलगायतका विषय समेटर मस्यौदा तयार गरिएको प्राधिकरणले जनाएको छ । भविष्यमा एमभीएनओले गरेको शर्तअनुसार काम नगरेमा कारबाही र सेवा बन्द गर्नेसम्मको अधिकार प्राधिकरणलाई हुनेछ ।
प्रवक्ता अर्यालका अनुसार एमभीएनओले सम्झौता गरिसकेपछि सेवा प्रदायक कम्पनीको नाममा नभएर आफ्नै ब्राण्डमा सेवा विस्तार गर्न सक्छ । यसका लागि निर्धारित समय, निर्धारित ठाउँ र प्रक्रिया भने नियामक निकाय र सेवा प्रदायकले कम्पनीसँग भएको सम्झौताबमोजिम हुनुपर्ने व्यवस्था गरिएको छ । प्रवक्ता अर्यालले मस्यौदा सरकारलाई सिफारिस गर्ने र निर्देशिकाको रूपमा आएपछि छिट्टै लाइसेन्स जारी गर्ने बताए । विकसित देशहरूमा एमभीएनओको प्रचलन व्यापक नै भए पनि विकासशील तथा अल्पविकसित देशमा भने यसको प्रयोग बढ्दो क्रममा छ । एमभीएनओको मोबाइल सेवा प्रदायकसँग ठूलो भल्युममा नेटवर्क विस्तारका लागि सम्झौता गर्ने र यसले आफ्नै कस्टमर सर्भिस, बिलिङ सपोर्ट सिस्टम, बजारीकरण र बिक्री वितरण हुन्छ । यसमा क्लाउड इम्पोइ सेवासमेत हुन्छ । यो सेवा सन् १९९० अगाडी नै युरोपको टेलकम बजारमा उदारीकरणको प्रवेश, नयाँ नियमनकारी भूमिका र टूजी नेटवर्कलाई प्रभावकारी बनाउन तथा वायरलेसमा ग्राहकहरू बढाउने उद्देश्यले सुरु गरिएको थियो ।