Logo

ओली एमाले फुटाएर जाँदै हुनुहुन्छः भीम रावल

नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले आफूहरू नभई ओली नै पार्टी फुटाएर जान लागेको बताए ।
‘ओलीजी पार्टी फुटाएर जादैँ हुनुहुन्छ,’ रावलले भने,‘पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौं ।’ उनले आफूहरू कुनै हालतमा एमालेबाट नभाग्ने स्पष्ट पारे । कसैको धम्कीबाट नडराउने बताउँदै एमालेको आफूहरू निर्वाचित पदाधिकारी भएको बताए ।
नवौं महाधिवेशनको म्यान्डेटअनुसार ओली अध्यक्ष भएको र आफूहरू पनि पदाधिकारी भएको बताए । रावलले भने, ‘हामी नेकपा एमालेमा टाँस्सिएका होइनौं, निर्वाचित पदाधिकारी हौं ।’
कुनै व्यक्तिले हटाउँदैमा आफूहरूको सांसद पद नजाने जिकिर गरे । उनले सांसद पद जाने गरी विधिविधानविपरीत कार्य नगरेकाले अध्यक्ष केपी शर्मा ओलीले पदमुक्त गर्न नसक्ने तर्क गरे । ‘कुनै व्यक्तिले हटाउँदैमा हाम्रो सांसद पद जाँदैन,’ ओलीलाई चुनौती दिँदै रावलले भने, ‘सांसद पदबाट मुक्त हुन संविधानले स्पष्ट रूपमा विधि तोकेको छ भन्ने हेक्काहोस् ।’
विधि र विधानविपरीत कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिविधि नेकपा एमाले विभाजनको दिशातर्फ बढिरहेको आरोप लगाए । उनले सांसद पदबाट आफूहरू हट्न राजीनामा दिनुपर्ने, दल त्याग गर्नुपर्ने, ह्वीप उल्लंघन गरेको हुनुपर्ने उल्लेख गरे । उनले भने, ‘हामीले सांसद पदबाट हट्नुपर्ने कुनै त्यस्तो कार्य गरेका छैनौं, कसैले हटाएर हट्दैनौं ।’
आफूहरूले अलग पार्टी बनाएको आरोप हाँस्यास्पद भएको बताए । उनले भने, ‘अलग पार्टी चलाएको र संचालन गरेका छैनौं ।’
ओलीले सहमतिका लागि भन्दै माधवकुमार नेपालसँग गरेको दुई चरणको भेटलाई भ्रम छर्ने रणनीतिको संज्ञा दिए । कार्यकर्तामाझ मिलाउन खोजेको थिएँ भनी भ्रम छर्न ओलीले नेताहरूसँग पछिल्लो समय भेटवार्ता गरेको सुनाए ।
ओलीले गठन गरेको स्थायी कमिटी र महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक संज्ञा दिए । अवैधानिक कमिटी बनाएर गरिएको बैठक अवैधानिक नै हुने तर्क गर्दै सहभागी हुन नसक्ने बताए । उनले भने, ‘ओलीजी नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ भने हामी पनि सोही महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हौं ।’
सहमतिका लागि २ जेठ २०७५ को अवस्थामा नेकपा एमालेको संरचनालाई सक्रिय बनाउनुको विकल्प नभएको बताए । ओलीले चालेका कदमहरू नसच्याएर देशमा अस्थिरता र अराजकता मच्चिने बताए ।
देशको सीमाना मिचिएको भन्दै रावलले त्यस्तो अवस्थामा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने, नेकपा विघटन गर्ने र फेरि एमाले नै विघटन गराउन खोज्ने गतिविधि गरिरहेको आरोप लगाए । उनले भने, ‘भारत र चीनजस्ता देश अवस्थित भूराजनीतिक जटिलताका बीच रहेको देशमा ओलीको गतिविधि घातक छ ।’
लिपुलेकमा भारतले मार्ग बनाउन लागेपछि आफूहरूले बारम्बार आवाज उठाएपछि मात्र ओली नक्सा प्रकाशित गर्न मानेको बताए । तर, नक्सा प्रकाशित सरकारी पुस्तिकामा प्रतिबन्धल गाएको बताए ।
ओलीले कोरोना महामारीको बखत जनता घरभित्र बस्दा दल विभाजनको अध्यादेश ल्याउनेदेखि देशको राजनीतिलाई दुषित गर्न लागेको आरोप लगाए । उनले ओलीको राष्ट्रवादमाथि नै प्रश्न गरे ।
ओलीले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्जकर्पोरेसन एमसीसीपारित गराएर देशलाई बाह्य प्रभावमा पार्न खोजेको आरोप लगाए । एमसीसीलाई राष्ट्र हितविपरीत भन्दै त्यसलाई रोक्न आफूहरू लागेको बताए । उनले भने, ‘देशहितविपरीत जान्नभनेर सभामुखले भन्नुभएको छ, उहाँलाई धन्यवाद छ ।’ देश हितविपरीतकाप्रावधान राखिएको र त्यसलाई हटाएमा मात्रएमसीसी संशोधनसहितपारित गर्ने पक्षमा आफूहरू रहेको स्पष्ट पारे ।
ओलीले एमसीसी नेपालको कानुनभन्दा माथि र प्रसारण लाइनमा अमेरिकी अधिकार स्थापित गर्ने प्रावधान राखेर पारित गर्न खोजेको आरोप लगाए । उनले भने,‘नेपालको संविधानभन्दा माथि एमसीसीमा उल्लेखित प्रावधान खतरनाक छ ।’ एमसीसीको प्रावधान सच्चिनुपर्ने बताए । उनले भने, ‘कसैको ५ अर्ब वार्षिक रकममा देशको अस्मिता लुट्न दिन मिल्छ ?’ सुनको आसनमा बस्न दिएर आमाको अस्मिता लुट्न छुट दिए जस्तै स्वीकार्य नहुने बताए ।
देशलाई अफगानिस्तान र सिरियाको अवस्थामालाने शैली स्वीकार्य नभएको बताए । एमसीसीमा भएका देशहितविपरीतको प्रावधान नहटाए सम्झौता रद्द गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्