उवासंघ प्यूठानमा चुनावी सरगर्मी «

उवासंघ प्यूठानमा चुनावी सरगर्मी

प्यूठान-प्यूठान उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि सरगर्मी बढेकको छ । मंसिर २९ गते हुने संघको निर्वाचन मिति नजिकियसँगै निर्वाचन सरगर्मी बढ्दै गएको हो । संघको दसौं अधिवेशनका लागि अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयन हुने देखिए पनि अन्य पदाधिकारीहरूमा भने निर्वाचन हुने निश्चित बनेको हो ।
वर्तमान वरिष्ठ उपाध्यक्ष केदारमान कक्षपति नेतृत्वमा संयुक्त व्यावसायिक प्यानल घोषणा गरिएको छ भने अर्को आधिकारिक व्यावसायिक प्यानले पनि नेतृत्वमा कक्षपतिलाई समर्थन गर्दै अन्य पदमा भने उम्मेदवारी घोषणा गरेको छ । संयुक्त व्यावसायिक प्यानलअन्तर्गत वरिष्ठ उपाध्यक्ष यज्ञबहादुर केसी (प्रभात), वाणिज्य उपाध्यक्ष दुर्गा भूषाल, उद्योग उपाध्यक्ष मुक्ति पोख्रेल, महासचिव कृष्णभक्त गिरी, उपमहासचिवमा पदम खड्का र कोषाध्यक्ष सुरेन्द्र जिसीको उम्मेद्वारी घोषणा गरेको छ ।
यस्तै आधिकारिक व्यावसायिक प्यानले वरिष्ठ उपाध्यक्षमा रामचन्द्र पौडेल, वाणिज्य उपाध्यक्ष प्रमोद पोख्रेल, उद्योग उपाध्यक्ष सनत श्रेष्ठ, महासचिव दधिराम भण्डारी, उपसचिव भरतकुमार श्रेष्ठ र कोषाध्यक्षमा बालाजुराज भण्डारीकोे उमेदवारी घोषणा भएको प्यानलका वरिष्ठ उपाध्यक्ष उम्मेद्वार रामचन्द्र केसीले जानकारि दिए । संयुक्त व्यावसायिक प्यानललाई नेकपा र राष्ट्रिय जनमोर्चाको समर्थन र आधिकारीक व्यावसायिक प्यानललाई नेपाली कांग्रेसको समर्थन रहेको बुझिएको छ ।
अध्यक्षसहित अन्य पदाधिकारीमा प्रत्यक्ष निर्वाचन प्रणाली अनुसार निर्वाचित हुनुपर्ने व्यवस्था रहेको संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताए । “अध्यक्ष पदमा उम्मेदवारीका लागि कम्तीमा एक कार्यकाल संघको जिल्ला समितिमा बसी काम गरेको हुनुपर्छ,” अध्यक्ष न्यौपानेले भने, “अन्य पदाधिकारीका लागि बजार इलाकाबाट जिल्ला प्रतिनिधि चयन भएमा मात्रै उम्मेदवार बन्न पाउँने व्यवस्था छ ।” संघमा ३ हजार बढी व्यवसायी आबद्ध रहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्