अर्घाखाँचीमा ३३ सय हेक्टर जंगलमा आगलागी
अर्घाखाँची जिल्लामा गत फागुन ७ गतेदेखी वैशाख ११ गतेसम्ममा ३३ सय हेक्टर वनमा आगलागी भएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ । जंगलबाट लागेको लागो घरबस्तीमा पुग्दा अर्घाखाँची छत्रदेव केरूंगामा १ घर, र २ गोठमा आगोलागी भएको तथ्यांक छ । त्यस्तै भूमिकास्थानको नुवाकोटमा घर गोठ र शीतगंगाको पिरापानीमा गोठमा आगलागी भएको छ ।
वन जंगलमा प्राकृतिक हिसाबले ९९ प्रतिशत मानिसको लापरबाहीका कारण आगलागीका घटना बढेको डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख मोहन श्रेष्ठले बताए ।
स्थानिय बासिन्दाहरूमा डढेलो लगाएपछि दाउरा, घाँस काटन पाइने मानसिकता भएका कारण आगलागीका घटना बढेको बताइएको छ । जिल्लाभरमा सब–डिभिजन वन कार्यालय छन, जंगलमा आगलागी गर्नेलाई कारबाहीका लागी सुराकी लगाएका छौँ, प्रमुख श्रेष्ठले भन्नुभयो । डढेलोलाई नियन्त्रण लिनका लागी प्रहरी, सशस्त्र, नेपाली सेना तथा सन्धिखर्क नगरपालिकामा रहेको दमकलको प्रयोग गरिएको छ, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले भने ।
आगलागीका कारण जंगली जन्तुलाई असर परेको छ । जंगलमा रहेको जनावरको डाटा नै नरहेका कारण कति जंगली जनाबर आगलागीबाट मरे भन्ने तथ्याकं छैन, तर आगोलागी भएतापनि बाच्न सक्ने जनावर बसाई सरेर अर्को जंगलमा जाने गरेको वन कार्यालयले जनाएको छ । जंगलमा जथाभावी आगो लगाउनेलाई वन ऐन अनुसार कारबाही हुनेछ । अर्घाखाँचीमा १२४ वटा सामुदायिक वन रहेका छन् । सामुदायिकसँगै निजी वनहरूमा पनि आगोलागी भएको डिभिजन वन कार्यालयले जनाएको छ ।