आजदेखि महोत्सव «

आजदेखि महोत्सव

पोखरा-पोखरामा सोमबारदेखि सञ्चालन हुने अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा ४० वटा स्टल रहने भएका छन् । हिमाली तथा पहाडी क्षेत्रको जनजीविका र कला संस्कृति झल्कने एवं सूचनामूलक ४० वटा स्टल रहने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
नेपाल पर्वतारोहण संघको आयोजनामा पोखराको रातोपहिरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा मंसिर २६ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवको अन्तिम तयारी पूरा भएको संघका महासचिव कुलबहादुर गुरुङले बताए ।
डिसेम्वर ११ तारिख अर्थात् अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा संघले महोत्सवमा हिमाली क्षेत्रका समुदायको परम्परागत सांस्कृतिक, नाचगान र झाँकी तथा खेल पर्यटनको समेत विकास गर्ने उद्देश्यले यस वर्ष नेपाली धावक बैठुकण्ठ मानन्धरको नाममा एनएमए बैकुण्ठ मानन्धर हिमालयन हाप म्याराथन आयोजना गर्ने भएकोे महासचिव गुरुङले बताए । उक्त महोत्सव प्रभावकारी बनाउन हाप म्याराथन सहितका विभिन्न खेलकुद प्रतियोगिताहरू हुने भएको उनले जनाए ।
महिलाहरूका लागि १० किलोमिडर सडक दौड हुने भएको छ । पुरुषतर्फ हाप म्याराथन विजेताले ५० हजार उपविजेताले २५ हजार पुरस्कार प्राप्त गर्ने भएको छ । १० किलोमिटर महिला दौडमा विजेतालाई २५ हजार उपविजेतालाई १५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।
त्यसै गरी एनएमए हिमालयन साइक्लिङ प्रतियोगिता हुने भएको छ । प्रतियोगिताका विजेतालाई २५ हजार उपविजेतालाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । महोत्सवको अवसरमा एनएमए टोनी हेगन टुरिजम पेन्टिङ प्रतियोगिता, रस्साकसी प्रतियोगिता, छेलो प्रतियोगितासमेत हुने भएको छ । महोत्सवमा खानाका विभिन्न परिकारलाई समेत पुरस्कृत गरिने भएको छ । खानामा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलार्ई ७ हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिने भएको संघका महासचिव गुरुङले जनाए ।
नेपाल पर्यटन बोर्डको मुख्य प्रायोजक छ भने डिसेम्बर ११ अर्थात मंसिर २५ गते विश्व प्रसिद्ध हिमाल आरोहीहरूलाई सम्मान गरिने भएको संघका अध्यक्ष सन्तवीर लामाले बताए । विज्ञान, प्रविधि, खानाको परिकार, सूचना केन्द्र विभिन्न पर्यटकीय वस्तुहरूको समवेश गरी महोत्सवमा ४० वटा स्टल उपलब्ध गराउने भएको अध्यक्ष लामाले जनाए । महोत्सवमा स्टल तथा दर्शकले प्रवेश गर्दा निःशुल्क व्यवस्था गरिएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्