सामुदायिक वनले १४ सय भवन क्वारेन्टिनका लागि दिने «

सामुदायिक वनले १४ सय भवन क्वारेन्टिनका लागि दिने


सामुदायिक वन उपभोक्ता महासंघ नेपालले कोरोना महामारी नियन्त्रणका लागि देशभरका १४ सयभन्दा बढी सामुदायिक भवनलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको छ । पछिल्लो समय बढ्दै गएको कोराना संक्रमणको जोखिम न्यूनिकरण गर्नका लागिसामुदायिक वनका करिव १४ सय भवन क्वारेन्टिनमा दिने निर्णय महासंघले गरेको छ ।
वर्तमान विषम परिस्थितिमा फेकोफनका सम्पूर्ण तहगत संरचनाका साथै देशभरका उपभोक्ता समुहले सरकारले घोषणा गरेका मापदण्डहरु कडाइका साथ कार्यान्वयन गर्ने निर्णय पनि महासंघले निर्णय गरेको छ ।
कुनै पनि विपतमा सहयोग गर्दा अशक्त महिला, गरिव, वृद्ध, दलित, आदिवासीलगायतका वर्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने गरी आफ्ना सबै संरचनाहरु परिचालन गर्ने निर्णय भएको सचिव ठाकुर भण्डारीले जानकारी दिए ।
बैठकले हालसम्म भए गरेका संस्थागत कृयाकलापको समिक्षा गर्दै भावी कार्ययोजना निर्माणमा जुट्ने निर्णय गरेको छ । यसैगरी महासंघले संघीय वन नियमावली तत्काल बनाउन पनि सरकारसँग माग गरेको छ । वैज्ञानिक वन मार्गदर्शन २०७१ खारेज गरेकोमा सरकारलाई धन्यवाद दिँदै फेकोफनले वनको दिगो व्यवस्थापनको मापदण्ड बनाई तत्काल कार्यान्वयनमा ल्याउन भनेको छ ।
अहिले पनि विभिन्न ठाउँहरुमा वन पैदावार कटान, उपयोग तथा बिक्री वितरणमा लगाइएको प्रतिबन्ध हटाउन र तेहेरो कर खारेज गर्नसमेत माग गरेको छ ।
संघ, प्रदेश र स्थानीय सरकारको आगामी २०७८÷०७९ को नीति, कार्यक्रम र बजेटमा सामुदायिक वनलाई प्राथमिकता दिन माग गर्दै महासंघले आर्थिक समृद्धिका लागि फलफूल, घास, जडीबुटी, वन्यजन्य खाद्य, गैरकाष्ठ र काष्ठजन्य विरुवा रोपेर वृक्षारोपण अभियान वर्ष सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
वन डढेलोका क्रममा आगलागीमा र जंगली जनावरको आक्रमणमा परी मृत्यु उपभोक्ताहरूका लागि महासंघले गरेको बिमा बापतको राहत रकम तत्काल उपलव्ध गराउन बिमा कम्पनीसँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्