पर्यटकीय गन्तव्य नगरकोट
पर्यटकीय गन्तव्य क्षेत्र बोकेको ठाउँ हो नगरकोट । नगरकोट आफैंमा चिरपरिचित नाम पनि हो । विश्वका विभिन्न मुलुकबाट विदेशी पर्यटकहरू यहाँ आउने गर्छन् । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई समेत लक्षित गरी यस नगरकोट आसपासमा विभिन्न किसिमका होटल तथा लजहरूसमेत रहेका छन् । सुन्दर पर्यटकीय गन्तव्य नगरकोटमा पछिल्लो समय कोरोनाको प्रभाव र मुलुक बन्दाबन्दीले गर्दा यहाँका होटल तथा लजहरू प्रायः ठप्पजस्तै थिए । लामो समयपछिको बन्दाबन्दी खोलेसँगै मानिसहरूको दैनिकी पनि सामान्यतर्फ गएको थियो । केही महिना अघिदेखि नेपाल सरकारले पर्यटन क्षेत्रलाई पनि खुला गरेसँगै पछिल्लो चरणमा मुलुकमा पर्यटन क्षेत्र अलि चलायमान हुन थालेको हो । तर, कोभिडको प्रभाव भने अझैसम्म पनि निर्मूल हुन सकेको छैन ।
अर्थतन्त्रलाई चलायमान राख्नका लागि भए पनि पर्यटन क्षेत्रलाई बढाउँदै लानु अर्को महत्वपूर्ण कुरा हो । हाम्रो मुलुक अनगिन्ती प्राकृतिक तथा धार्मिक गन्तव्य र पर्यटकीय क्षेत्र बोकेको ठाउँ हो । त्यसमा पनि राजधानी काठमाडौं उपत्यकाभित्र धेरै पर्यटकीय गन्तव्य ठाउँहरू रहेका छन् । भक्तपुर आफैंमा पनि एक पर्यटकीय गन्तव्य स्थल हो भने ललितपुर पनि धार्मिक तथा ऐतिहासिक धरोहरले धनी छ । तर, विश्वका धेरै मुलुकबाट आउने विदेशी पर्यटकहरू राजधानी आएपछि काठमाडौं उपत्यकाभित्र रहेका पर्यटकीय क्षेत्रको अवलोकन पनि छुटाउनै नहुने ठाउँ नगरकोट जाने गर्छन् । भक्तपुर र काभ्रेको सिमानामा अवस्थित नगरकोट एक सन्दर मनोरम प्राकृतिक दृश्य अवलोकन गर्ने प्रमुख पर्यटकीय गन्तव्य क्षेत्र पनि हो ।
काठमाडौंबाट करिब ३० किलोमिटरको दूरीमा रहेको नगरकोट राजधानीबाट नजिक मानिन्छ । पछिल्लो चरणमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूले खचाखच हुने गरेको छ । उदाहरणका लागि नयाँ वर्षको आगमनसँगै यस ठाउँमा अघिल्लो रातदेखि नै यहाँका होटल तथा लजहरू बुकिङ हुने गर्छन् भने नयाँ वर्षको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम आयोजना गरी मनाउने गर्छन् । नयाँ वर्षको आगमनसँगै भोलिपल्टको पहिलो झुल्के घाम हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू आतुर भइरहेका हुन्छन् भने यहाँका प्राकृतिक मनोरम दृश्य अवलोकन गर्न पनि उत्तिकै चासो लिइरहेका हुन्छन् र मोबाइलमा फोटो कैद गर्छन् । नजिकै आर्मी ब्यारेक रेन्जर गण रहेको छ भने त्यसको केही माथि गएपछि भ्यू टावरमा पुग्न सकिन्छ । भ्यू टावर नै हो मुख्य दृश्यावलोकनको प्रमुख स्थान । यहींबाटै उदाउँदो सूर्यलाई देख्न सकिन्छ भने आँखैअगाडि रहेको गौरीशंकर हिमाल र विश्वका ठूला–ठूला हिमश्रृंखलाहरू पनि देख्न सकिन्छ ।
त्यतिमात्र होइन, यहाँको स्वच्छ प्राकृतिक हावापानी, मनोरम दृश्य र विभिन्न डाँडाकाँडाले जोकोहीको मन पनि आनन्दमय बनाउँछ । त्यसैले त आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँ आएर छुट्टै मजा लिने गर्छन् । तर, मौसम सफा भएको बेलामा पनि यहाँ समयअनुसार आन्तरिक तथा बाह्य पर्यटकहरू धेरै आउने गर्छन् । तसर्थ पर्यटकीय क्षेत्रले नगरकोट निकै नै महत्वपूर्ण मानिन्छ । नगरकोट पर्यटकीय क्षेत्र निकै नै राम्रो गन्तव्य स्थल मानिने गर्छ । नगरकोट क्षेत्रमा पर्यटकीय आगमनलाई सहज बनाउनका लागि सरकारले पनि यहाँ पर्यटकीय प्रवद्र्धनमा विशेष जोड दिनु जरुरी छ भने सडकहरूको चौडाइलाई पनि सरकारले विशेष ध्यान दिनु जरुरी देखिन्छ । नगरकोटमा पर्यटक आगमनका लागि सरकारले तथा स्थानीय निकायले पनि पर्यटनसम्बन्धी विभिन्न कार्यक्रमहरूको पनि आयोजना गर्दै लानुपर्ने हुन्छ, जसले गर्दा पर्यटक आगमनमा पन टेवा पुग्छ ।