कोरोनाको दोस्रो लहरले पुरानै अवस्थातर्फ धकेल्न सुरू
सिजनमै उत्पादन घटाउँदै उद्योग
उद्योगमा कोभिडको दोस्रो लहरको असर
कोरोनाका कारण लामो समय थलिएका उद्योगहरू उठ्ने तर्खरमा रहेकै बेला कोरोनाको दोस्रो लहरले उद्योगहरूलाई पुरानै अवस्थातर्फ धकेल्न सुरू गरेको छ । पछिल्ला तीन महिनामा उत्पादन क्षमता बढाउँदै गएका उद्योगीहरू वैशाखको पहिलो सातादेखि नै उत्पादन घटाउन थालेका छन् । उत्पादन क्षमता घटाउनुको मुख्य कारण बजार माग घट्नु नै भएको उद्योगीहरूले बताएका हुन ।
नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले पनि कोरोनाको दोस्रो लहर फैलिएपनि उद्योग चलाउन निकै त्रास भएको बताए । “स्वाथ्य प्रोटोकल पूर्णरूपमा पालना गरेर, उद्योगमै श्रमिकलाई राखेर पनि अत्यावश्यक उद्योग चलेका छन्, तर त्रासले गर्दा श्रमिकवर्ग काममा जान चाहेका छैनन् भने व्यवस्थापन पनि जोखिम लिन चाहेको छैन । कोरोना बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर उद्योगमा देखिएको छ ।” उनी भन्छन्, “उद्योग बन्द गर्नु मात्रै विकल्प होइन त्यसैले स्वाथ्य प्रोटोकल अपनाएर काम गर्ने र जुन उद्योगमा संक्रमण देखापर्छ त्यसलाई मात्रै सिल गर्ने गरी जानुपर्छ सबैलाई एउटै बास्केटमा राख्न हुन्न ।” दोस्रो लहरको कोरोेनामा त्रास बढी देखिएको उनको अनुभव छ । अत्यावश्यक उद्योगमा पनि केही औषधी र फलामजन्य निर्माण सामग्री उत्पादन गर्ने उद्योगका मजदुरमा कोरोना देखिएपछि उद्योग व्यवस्थापन पक्षमा डर बढेको छ ।
यस्तै, नेपाल उद्योग बाणिज्य महासंघका उद्योग समिति सभापति भरतराज आचार्य पनि बजार माग घटेका कारण उद्योगहरूले उत्पादन कटौती गर्नुपर्ने अवस्था आएको बताउँछन् । फागुनदेखि असारसम्म खाद्य, पर्यटन र निर्माणतर्फका सामग्रीहरू उच्च खपत हुने सिजन भएपनि कोभिडका कारण गत वर्ष र चालु वर्ष पनि सो बराबरको बजार माग आउन सकेन । हिउँदको यस सिजनमा वर्षभरी हुने खपतको ६० देखि ७० प्रतिशत खपत हुने गरेको आचार्य बताउँछन् । “कोभिडको दोस्रो लहरले कतिसम्म असर गर्ने भन्ने कुनै अनुमान छैन, उद्योगहरू कति चल्न सक्छन् कति बन्द हुन्छन् यकिन गर्न कठिन छ,” उनी भन्छन्, “बजारमा माग नआउँदा आयात भएका कच्चा सामग्री पनि होल्ड गर्नुपर्ने र उत्पादित सामग्रीहरू पनि गोदाममा थन्कँदा त्यसको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव उत्पादनसँग जोडिएको छ ।”
व्यावसायिक गतिविधिका लागि लकडाउनको अवस्था नभएपनि आम सर्वसाधारणमा त्रास भएका कारण बजारमा माग घटेको छ । सरकारले सामुहिक भेला तथा जमघट रोक लगाएका कारण अहिले ठूलो मात्रामा खपत हुने क्षेत्र तथा कार्यमा सामग्री जान सकेको छैन । “यस्तो अवस्थामा उद्योगले आम्दानी नै गर्न सकेका छैनन्, नाफाको अवस्थामा बारेमा सोच्न सक्ने अवस्था छैन” आचार्य भन्छन्, “पुरानो लयमा फर्कने केही पहल हुँदै थियो, कोभिडको दोस्रो लहरले पुनः उद्योगहरूको आर्थिक स्वास्थ बिग्रिएको छ ।”
उनका अनुसार अहिले स्वाथ्य मापदण्ड पूरा गरेर श्रमिकहरूले काम गर्न भने तयार भएका छन् तर, बजारमा माग घटेको देखिए पछि उद्योगीलाई असर गरेको छ । विश्वव्यापी रूपमै सप्लाई चेनमा असर परेकाले नेपालमा पनि कच्चा पदार्थ आयातदेखि उत्पादन क्षमतामा समस्या आएको छ ।
पहिलो चरणको कोभिड न्यूनिकरणका लागि गरिएको लकडाउनका कारण १७.७ प्रतिशत उद्यमी–व्यवसायी आफ्नो व्यवसायलाई पुनः निरन्तरता दिन नसक्ने अवस्था सिर्जना भएको राष्ट्र बैंकको प्रतिवेदनले देखाइसकेको छ । बैंकले गरेको अध्ययन अनुसार ८२.३ प्रतिशत व्यवसायीले मात्रै आफ्नो व्यवसायलाई निरन्तरता दिन सक्ने देखिएका छन् । कारोनाले अर्थतन्त्रमा पारेको प्रभावकोे अध्ययन गरेको राष्ट्र बैंकले ८२.३ प्रतिशत व्यवसायीले लकडाउनपछि पनि आफ्नो पुरानै व्यवसायलाई निरन्तरता दिन सक्ने र केहीले बन्द गर्न चाहेको उल्लेख गरेको छ । दोस्रो लहरको असर सुरू भएकाले अहिले नै कति प्रभाव पार्छ भनेर यकिन गर्न सक्ने अवस्था छैन ।