Logo

आरोहीका लागि पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य

सगरमाथा बेसक्याम्पमा स्वास्थ्य मापदण्ड कडा


कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि पर्यटन विभागले हिमाल आरोहणमा जाने आरोहीका लागि पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ ।
सगरमाथा आरोहणका लागि गएका नर्वेली आरोही अर्नेल्ड नेसलाई अघिल्लो हप्ता कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि विभागले स्वास्थ्य मापदण्डमा पनि थप कडाइ गरेको छ ।
पछिल्लो समय कोभिड–१९को दोश्रो लहरबाट संक्रमण हुनेको संख्या बढेसँगै विभागले हिमाल आरोहण जाने आरोहीलाई पीसीआरमा कडाइ गरेको हो । विभागले हिमाल आरोहणमा गएका आरोहीलाई सम्पर्क अधिकृत र अन्य माध्यमबाट सूचना प्रवाह गरी आफ्नो क्याम्पभन्दा अन्य क्याम्पमा नजान र मास्क प्रयोग अनिवार्य गरेको छ ।
विभागले नर्वेली नागरिक नेस भने कोभिड नभएको प्रतिवेदन आएको र सम्भावित जोखिमलाई लक्षित गरी कडाइ गर्नुपरेको बताएको छ । “आधार शिविरमा नर्वेली नागरिक नेसलाई कोभिड–१९ जस्तै मिल्दोजुल्दो लक्षण देखिएपछि हामीले चेकजाँच गर्दा रिपोर्टमा कोभिड–१९ देखिएन,” विभागका महानिर्देशक रुद्रसिंह तामाङे भने, “उहाँसँग सम्पर्कमा आएका आरोहीको पनि कोभिड परीक्षण गर्दा अन्यको रिपोर्ट पनि नेगेटिभ आएको छ ।”
स्वास्थ्यमा समस्या आएपछि काठमाडौं ल्याएर उनको उपचार गरिएको र उनमा निमोनिया देखिएको बताइएको छ । हाल उनी पूर्णरुपमा स्वस्थ भएर घर फिर्ता हुने तयारीमा रहेको महानिर्देशक तामाङको भनाइ छ । कोभिड–१९को संक्रमणको जस्तै लक्ष्ण देखिएका नर्वेली आरोहीलाई हाइ–अल्टिच्युड सिकनेस (लेक लागेको) हुन सक्ने महानिर्देशक तामाङ बताउँछन् ।
नयाँ जाने टिमले सार्ने खतरा रहेकाले गर्दा आरोहणमा जानेलाई परीक्षण गरेरमात्र जाने व्यवस्था मिलाएको विभागले जनाएको छ । यसो भएमा पहिले नै गएका समूह १ महिनादेखि नै बेसक्याम्पमा रहेकाले त्यहाँ कसैमा कोभिड–१९ नभएको र थप नयाँ समूहलाई पनि परीक्षण गरेर जाने व्यवस्था मिलाएर एक अर्काको सम्र्पकमा कडाइ गरिएकाले गर्दा आरोहण सुरक्षित हुने महानिर्देशक तामाङको विश्वास छ ।
जारी सिजनमा शुक्रबारसम्म १६ हिमाल आरोहणको लागि ७९ समूहका ६ सय ८९ आरोहीले अनुमति लिएका छन् । जसमा सगरमाथाका लागि ४२ समूहका ३ सय ९४ आरोही छन् । सगरमाथा आरोहणमा जाने आरोही सबैभन्दा बढी रहेका छन् । विभागका अनुसार, सगरमाथाको लागि ३ सय ३ पुरुष र ९० महिलाले आरोहणको लागि अनुमति प्राप्त गरेका छन् । जारी सिजनमा मात्र करिब ५३ करोड रुपैयाँ पर्यटन रोयल्टीबापत संकलन भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्