आईसीपीको निर्माणले उद्योगी उत्साहित «

आईसीपीको निर्माणले उद्योगी उत्साहित

आयात–निर्यात सहज हुने अपेक्षा

विराटनगर–१८ बुधनगरमा अत्याधुनिक सुविधासम्पन्न एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माण भएसँगै पूर्वका उद्योगीहरू उत्साहित भएका छन् ।
आईसीपी निर्माण भएसँगै आयात–निर्यातमा सहजता आउने उद्योगीहरूको अपेक्षा छ । आईसीपी आंशिक रुपमा सञ्चालनमा आएको छ । “अब आयात–निर्यातमा देखिँदै आएको झन्झट पक्कै हट्ने छ,” उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भने, “भन्सारको झन्झटिलो प्रक्रिया पनि समाधान हुनेछ ।” हाल सञ्चालनमा रहेको भन्सार साँघुरो छ । जसका कारण जामको समस्या झेल्नुपर्ने अवस्था छ ।
आईसीपी सञ्चालनमा आएपछि विराटनगर भन्सार क्षेत्रमा हुने जाम समस्या कम हुने उनको विश्वास छ । आईसीपी पूर्ण क्षमतामा सञ्चालनमा आउन अझै केही समय लाग्नेछ । भारत सरकारको विदेश मन्त्रालयले भारततर्फको एकीकृत भन्सार जाँच चौकी भएर खाली गाडीहरू जान दिन अनुमति दिएपछि आंशिक रुपमा सञ्चालनमा आएको हो । विराटनगर भन्सार नाका भएर दैनिक ३ सय मालबाहक गाडीहरू नेपाल भित्रिने गरेका छन् भने करिब २ सय ५० वटा खाली गाडीहरू भारततर्फ जाने गरेका छन् ।
भारत सरकारको सहयोगमा निर्माण भइरहेको एकीकृत भन्सार जाँच चौकी फेबु्रअरी २०१९ मा निर्माण सम्पन्न हुने भारतीय ठेकेदारले बताएका छन् । भारतीय पक्षले नेपालतर्पmको आईसीपी निर्माणका लागि ठेकेदार नियुक्तिमा ढिलाइ गर्दा निर्माण कार्यमा ढिलाइ हुन गएको हो । हालसम्म नेपालतर्फ ६२ प्रतिशत काम सकिएको आईसीपी विराटनगरका प्रोजेक्ट म्यानेज अवधेशकुमार साहले जानकारी दिए । “तीव्र रुपमा निर्माणको काम भइरहेको छ,” साहले भने, “सम्भवतः दुई महिनाभित्र निर्माण सम्पन्न हुनेछ ।”
८ सय ५० मिटर लम्वाई र ५ सय मिटर चौडाईको जाँच चौकी पूर्णरुपमा सञ्चालनमा आएपछि मालबाहक सवारी र रेल चेकपोष्टभित्रैबाट आवतजावत गर्न सक्नेछन् । जाँचचौकीभित्रै गोदाम, चेकपोष्ट, रेलवे स्टेशन, मालबाहक सवारी पार्किङदेखि पशु र प्लान्ट क्वारेन्टाइन कार्यालय, बैंक, होटल, प्रयोगशालालगायतको सुविधा हुनेछ ।
भारत र नेपाल दुवैतर्फ एउटै नमुनाको आईसीपी निर्माण भएको छ । आईसीपी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि नेपाल–भारतबीचको व्यापार अभिवृद्धिमा महत्वपूर्ण योगदान पु-याउने मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बताए । “आईसीपी सञ्चालनमा आएपछि उद्योगीका धेरै समस्या समाधान हुनेछन्,” सारडा भन्छन्, “लोड–अनलोडसँगै जामको समस्या हट्नेछ ।” ढुवानी लागतसमेत कम हुने उनको भनाइ छ ।
भारततर्फ गत वर्ष कात्तिकदेखि सञ्चालनमा आइसकेको छ । आईसीपीका लागि आवश्यक पर्ने जग्गाको मुआब्जा वितरणमा विलम्ब हुँदा नेपालतर्फ भने निर्माण कार्य ढिला भएको हो । आईसीपीले १ सय २९ बिघा क्षेत्रफल ओगटेको छ ।

प्रतिक्रिया दिनुहोस्